
“विजया दशमी–२०६८” को शुभ उपलक्ष्यमा
नेपाली सेनाका सकल दर्जालाई प्रधान सेनापति महारथी श्री छत्र
मान सिंह गुरुङ्गको शुभकामना सन्देश
१. समस्त नेपालीको महान चाड बडा दशैंको
शुभ उपलक्ष्यमा राष्ट्र र जनताको सेवामा समर्पित नेपाल भित्र
तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत नेपाली सेनाका सम्पूर्ण
बहालवाला, भूतपूर्व सैनिक तथा निजामती कर्मचारी एवं समस्त
परिवारहरुमा नवदुर्गा भवानीको आशीर्वादले सुख, शान्ति, समृद्धि
तथा उत्तरोत्तर समुन्नति र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना
व्यक्त गर्दछु ।
२. बडा दशैं जस्तो महत्वपूर्ण चाडको समयमा
समेत सदा झैं सैनिक जीवनको मूल्य, मान्यता र जिम्मेवारी मुताविक
नेपाली सेनाले आफ्नो व्यक्तिगत सुख, सुविधा र आराम भन्दा पनि
नेपाली जनताको चाहना र भावना अनुरुप राष्ट्र तथा जनताको हितलाई
सर्वोपरी ठानी जस्तोसुकै सेवा, त्याग र बलिदानको लागि तत्पर
रहनु नै हाम्रो परम धर्म हुने कुरा स्मरण गराउन चाहन्छु ।
३. अन्त्यमा, पुनः एक पटक सबैमा नवदुर्गा
भगवतीको आशीर्वाद रहिरहोस् भन्ने कामना गर्दै सकल दर्जामा
सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त
गर्दछु ।
|
|
(छत्र मान सिंह गुरुङ्ग) |
|
|
महारथी |
|
|
प्रधान सेनापति |
“नववर्ष– २०६८” को उपलक्ष्यमा नेपाली सेनाका
सकल दर्जालाई प्रधान सेनापतिको सन्देश
१. “नववर्ष २०६८” को सुखद अवसरमा राष्ट्र र
जनताप्रति सदाभै समर्पित भई रहन प्रेरणा मिलोस् भनी राष्ट्रिय
तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत नेपाली सेनाका सम्पूर्ण
बहालवाला तथा भूतपूर्व सैनिक, नेपाली सेना अन्तर्गत रहेका निजामति
कर्मचारी एवं वहाँहरुका परिवारप्रति सुख, शान्ति, समृद्धि तथा
उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
।
२. त्यस्तै राष्ट्रिय स्वाधिनता तथा अखण्डताको रक्षा तथा नेपाली जनताको शान्ति र आधारभूत हितको संरक्षणका दौरान इतिहासकालदेखि वर्तमानसम्म कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका सकल दर्जाको आत्माको चीर शान्तिको कामनाका साथै अङ्गभङ्ग भई पुनस्र्थापनाको क्रममा रहेका सम्पुर्र्ण घाइते बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
३. नेपालको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता
तथा स्वतन्त्रताको प्रतिरक्षा गर्ने आफ्नो प्रमुख दायित्वप्रति
सदैव समर्पित, गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेना,
नेपाली जनताको चाहना एवं भावना अनुरुप हरहमेशा राष्ट्र र जनताको
हितलाई सर्वोपरी ठानी संविधान प्रदत्त राष्ट्रिय सुरक्षा सम्बन्धी
जिम्मेवारी लगायत नेपाल सरकारद्वारा विधिवत रुपमा प्रदान गरिएका
जिम्मेवारीलाई सशक्त एवं प्रभावकारी ढङ्गले निभाउन सदाभै गहन
भूमिका निर्वाह गर्न नितान्त जरुरी छ । सो को लागि सबै तहका
कमाण्डरहरुले आफ्नो उच्च पेशागत क्षमता तथा अराजनैतिक चरित्रलाई
अक्षुण्ण राखी अनुशासित एवं पेशेवर तरिकाले प्राप्त जिम्मेवारीहरु
कार्यान्वयन गर्न भौतिक तथा मानसिक दुवै रुपमा उच्चतम तयारी
रहन आवश्यक देख्दछु ।
४. “नववर्ष– २०६८” को यस सुखद अवसरमा नेपाली
सेनाले आगामी दिनहरुमा पनि सदाभै राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता
तथा राष्ट्रवासीको कल्याणको लागि संस्थागत रुपमा समर्पित रहि
रहने कुरामा सबैलाई विश्वस्त तुल्याउन चाहन्छु ।
५. अन्त्यमा, नयाँ वर्षमा हामी सबै नेपालीले
दिगो शान्ति, सुरक्षाको प्रत्याभूती गर्दै आर्थिक समुन्नतितर्फ अघि बढ्न
सकोस् भन्ने कामना गर्दै सबैमा पुनः “नववर्ष–२०६८” को
शुभकामना व्यक्त गर्दछु ।
धन्यबाद ।
|
|
(छत्र मान सिंह गुरुङ्ग) |
|
|
महारथी |
|
|
प्रधान सेनापति |
सेना दिवस २०६७ को उपलक्ष्यमा नेपाली सेनाका
सकल दर्जाहरुलाई
प्रधान सेनापतिको सन्देश
(मिति २०६७/११/१८ गते)
१. “सेना दिवस २०६७” को सुखद अवसरमा राष्ट्र
र जनता प्रति सदा झैं समर्पित भई रहन प्रेरणा मिलोस् भनी स्वदेशमा
र विदेशका विभिन्न स्थानहरुमा कार्यरत सकल सेना, तिनका परिवार,
नेपाली सेना अन्तर्गत रहेका निजामति कर्मचारी, वहांहरुका परिवार
सबैको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक
मंगलमय शुभकामना व्यक्त गर्दछु ।
२. त्यस्तै राष्ट्रिय स्वाधीनता तथा अखण्डताको रक्षा र नेपाली
जनताको शान्ति तथा आधारभूत हितको संरक्षणका दौरान इतिहासकालदेखि
वर्तमानसम्म कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त गर्नु भएका
सकल दर्जाको आत्माको चीर शान्तिको कामनाकासाथै अङ्गभङ्ग भई पुनर्स्थापनाको
क्रममा रहेका सम्पूर्ण घाईते विरामीहरुको शीघ्र स्वास्थ्यलाभको
कामना गर्दछु ।
३. गौरवमय इतिहास र परम्परा बोकेको, आफ्नो प्रमुख दायित्व प्रति
सदैव समर्पित नेपाली सेनाले मुलुकको राष्ट्रिय एकता, अखण्डता,
सार्वभौमिकता, स्वतन्त्रता तथा राष्ट्र एवं राष्ट्रवासीको आधारभूत
हितको रक्षा गर्दै आएको छ । नेपाली सेनाले विश्वका सबै पेशेवर
सेनाहरु सरह निश्चित सैनिक मूल्य र मान्यता (Norms and Values)
लाई अक्षुण्ण राख्दै संविधान प्रदत्त राष्ट्रिय सुरक्षा सम्बन्धी
जिम्मेवारी लगायत पर्यावरण संरक्षण एवं प्रवर्द्धन, राष्ट्र संघको आव्हानमा
शान्ति स्थापना कार्य, विकास निर्माणमा सहभागिता, मानव सिर्जित
एवं प्राकृतिक विपद व्यवस्थापन तथा नेपाल सरकारद्वारा विधिवत रुपमा
प्रदान गरिएका जिम्मेवारीहरुलाई सशक्त एवम् प्रभावकारी ढंगले निर्वाह
गरी राष्ट्रको मान, इज्जत र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय क्षेत्रमा
समेत फैलाउन सफल भएको छ । यस्तो अद्वितीय इतिहास बोकेको संगठनले
आगामी दिनहरुमा पनि सदाझै राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता
तथा राष्ट्रवासीको कल्याणको लागि संस्थागत रुपमा समर्पित रहने
कुरा नेपाली सेनाको तर्फबाट आज सेना दिवसको अवसरमा सबैलाई विश्वस्त
तुल्याउन चाहन्छु ।
४. नेपाली सेनामा उच्चस्तरको पेशागत क्षमता कायम गर्नको लागि
विद्यमान तालिम प्रणालीलाई थप परिमार्जित गर्दै वास्तविकतामा आधारित
व्यवहारिक तथा लक्ष्यमूलक बनाउन र अझै परिस्कृत बनाउदै लैजान गत
वर्ष घोषित “तालिम वर्ष” बाट नेपाली सेनाको पेशागत ज्ञान एवं दक्षता
वृद्धि हुनुका साथसाथै समग्र क्षमता (Overall Capabilities) मा
समेत अभिवृद्धि भएको र यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिन
अत्यावश्यक महसुस गरिएबाट विगतको तालिम वर्षका कार्यक्रमहरुलाई
निरन्तरता दिई यस वर्षलाई “तालिम वर्ष –२” को रुपमा घोषणा गरिएको
बिदितै छ ।
५. सोही अनुरुप पृतनाको Operational Requirements
पुरा गर्न सक्ने गरी अन्तर्गतका फौजहरुको क्षमता अभिवृद्धि गर्ने
उद्देश्य सहित तालिममा स्तरीकरण गर्न प्रत्येक पृतना अन्तर्गत
पृतना तालिम शिक्षालयहरुको स्थापना गरी अस्थायी दरबन्दी, आवश्यक
हतियारको समेत व्यवस्था भई सकेको छ । हाल उपत्यका पृतना तालिम
शिक्षालय, काठमाण्डौं तथा मध्य पश्चिम पृतना शिक्षालय, रझेना बाँकेमा
निर्माणकार्य सम्पन्न भई सकेको, सुदूर पश्चिम पृतना शिक्षालय बोराडाँडी
व्यारेक धनगढीबाट पृतना हाता डोटीमा स्थानान्तरण गरिएको र पूर्वी
तथा मध्य पृतना शिक्षालयमा आवश्यक भौतिक पूर्वाधारहरु निर्माणकार्य
तीव्र रुपमा हुनुको साथै सबै पृतना तालिम शिक्षालयमा तालिम निर्देशन
बमोजिमका तालिमहरु समेत संचालन भई सकेका छन् ।
६. साथै सेनाभित्र कार्यदल गठन गरी संगठनको पुर्नसंरचना
तथा दश वर्षभित्र नेपाली सेनालाई दक्षिण एसियाली स्तरको वनाउने
प्रस्ताव रक्षा मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पुगेको छ ।
यसले सैनिक व्यक्तिको मनोबल उकास्नुका साथै दीर्घकालीन रुपमा थप
व्यवसायिक र सुविधासम्पन्न बनाउन मद्दत पु-याउने विश्वास लिईएको
छ ।
७. त्यस्तै विपद्को दृष्टिकोणबाट संवेदनशिल स्थानहरुमा
तैनाथ रहेको युनिटहरुलाई विपद् व्यवस्थापनको लागि रु. १ करोड ९०
लाखबाट खरिद भएका सामानहरु परेको समयमा अन्तर्गतका युनिटहरुमा
समेत प्रयोग गर्ने गरी एकमुष्ट रुपमा सबै पृतना हे.क्वा.हरु लगायत
ईञ्जिनियर निर्देशनालय, आर्टिलरी निर्देशनालय र नं. १० बाहिनी
अड्डालाई बितरण गरि सकिएको छ । यसले विपद् व्यवस्थापनमा नेपाली
सेनाको First Responder को भूमिका कार्यान्वयनमा निकै मद्दत पुग्ने
छ ।
८. त्यस्तै नेपाली सेनाको विभिन्न शिक्षण संस्थाहरुमा
संचालन हुने तालिमहरुको स्तरोन्नति गर्दै क्षेत्रीय एवं अन्तर्राष्ट्रियस्तरका
तालिमहरु संचालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारहरु, पाठ्यक्रम
तथा दक्ष शिक्षकको व्यवस्था गरी विगतमा माउण्टेन वारफेयर तालिममा
मात्र विदेशी शिक्षार्थीहरु संलग्न हुने गरेकोमा पहिलो पटक कमाण्ड
तथा स्टाफ तालिम र काउन्टर इन्सरजेन्सी तथा जंगल वारफेयर तालिममा
समेत विदेशी शिक्षार्थीहरुलाई संलग्न गराई तालिम सञ्चालन भईरहेको
छ । यी तालिममा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, मलेशियाका
सैनिकहरुले सहभागिता जनाईरहेका छन् । आगामी तालिमहरुमा अमेरिका
लगायत अन्य विकसित राष्ट्रहरुबाट शिक्षार्थीहरु सहभागी हुँदै छन्
। साथै निकट भविष्यमा प्यारा तालिम शिक्षालय तथा नेपाली सैनिक
प्रतिष्ठानमा समेत विदेशी शिक्षार्थीहरु संलग्न गराउने योजना मुताविक
सोको लागि आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण कार्य शुरु गरिएको
छ । त्यस्तै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई Centre of
Excellence को रुपमा विकास गर्ने गुरु योजना (Master Plan) मुताविक
विभिन्न निर्माण कार्यहरु भईरहेको छ । अमेरिकी राजदुतावासको सहयोगमा
संचालन हुने तालिमहरुको अलावा तालिम केन्द्रले पहिलो पटक आफ्नै
स्रोत तथा साधनहरुको प्रयोग गरी विदेशी शिक्षार्थीहरुको लागि अन्तर्राष्ट्रियस्तरको
United Nations Military Observers (UNMOs) तालिम संचालन गरेको
र आगामी दिनमा बिदेशी शिक्षार्थीहरु सम्मिलित अन्तर्राष्ट्रियस्तरको
थप दुई तालिमहरु United Nations Peacekeeping Contingent Commander
Course तथा United Nations Staff Officers Course संचालन गर्ने
योजना रहेको छ । यसबाट नेपाली सेनाको आत्मभरोसा एवं आत्मसम्मान
बढ्नुसाथै वाह्य मुलुकसँग सम्बन्ध विकसित एवं सुदृढ हुने र नेपाली
सेनाका शिक्षण संस्था पनि विकसित मित्रराष्ट्रका शिक्षण संस्थासरह
अन्तर्राष्ट्रियस्तरको तालिम दिन सक्षम छ भन्ने स्पष्ट भएको छ
।
९. साथै नेपाली सेनामा संचालन हुने सबै प्रकारका
तालिमहरुलाई एकै स्थानमा स्तरीय तरिकाले सम्पन्न गर्ने उद्देश्यले
रुपन्देही जिल्लाको सालझण्डी ईलाकामा एकीकृत सैनिक तालिम केन्द्र
(Integrated Army Training Centre – IATC) को स्थापनाको लागि भौतिक
पूर्वाधारहरु निर्माण हुने क्रममा IATC हे.क्वा., पदिक/बिल्लादार
तालिम शिक्षालय तथा सैन्य तालिम केन्द्रको निर्माण कार्यलाई प्राथमिकता
दिई निर्माण कार्यहरु तीव्र गतिमा भईरहेको छ । हाल यस स्थानमा
नं. ३ सैन्य तालिम केन्द्रलाई स्थानान्तरण गरी करीव ७०० सैन्यहरुको
तालिम समेत संचालन गरि सकिएको छ ।
१०. त्यस्तै समग्र सेनालाई वैज्ञानिक तवरबाट
शारीरिक तालिम दिलाउदैं राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलहरुमा
नेपाली सेनाको सहभागितालाई थप संस्थागत एवं व्यवस्थित गर्न र नेपाली
सेनाका खेलाडीको स्तर अभिवृद्धि गर्न लगनखेल ब्यारेक परिसरमा आगामी
वर्षको आषाढ महिना भित्र सम्पन्न गर्ने गरी उच्चस्तरको सैनिक शारीरिक
तालिम तथा खेलकुद केन्द्र (Army Physical Training and Sports
Centre-APTSC) स्थापना गर्ने उद्देश्य अनुरुप निर्माण कार्यहरु
द्रुत गतिमा भई रहेको छ ।
११. त्यस्तै नेपाली सेनालाई स्वास्थोपचार क्षेत्रमा
आत्मनिर्भर बनाउदै लैजाने उद्देश्यबाट सेनाका बहालवाला, भूतपूर्व
र उनीहरुको आश्रित परिवार तथा सर्वसाधारणका जेहेन्दार छोराछोरीलाई
सस्तो र सहज रुपमा स्वास्थ्य शिक्षा दिने योजना अन्तर्गत “नेपाली
सैनिक स्वास्थ्य विज्ञान अध्ययन संस्थान (Nepalese Army Institute
of Health Sciences – NAIHS)” स्थापना गर्ने क्रममा शिक्षा तथा
खेलकुद मन्त्रालय अन्तर्गत उच्च तथा प्राविधिक शिक्षा शाखाबाट
मनसाय पत्र (Letter of Intent) प्राप्त गरी आगामी वर्ष भाद्र महिनाबाट
“सैनिक नसिंङ्ग क्याम्पस” त्रि–चन्द्र मिलिटरी अस्पताल परिसर महांकालस्थानमा
र कार्तिक महिनाबाट “सैनिक मेडिकल कलेज” भण्डारखालमा संचालन गर्ने
योजना मुताविक आवश्यक कार्यहरु द्रुत गतिमा अगाडि बढाईएको छ ।
१२. सेना र संचार जगतबीचको आपसी सहकार्य तथा
सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले संचारकर्मीहरुलाई यु.एन.
मिशनहरुको भ्रमण, विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरुलाई
ब्यारेक भ्रमण, सेनासम्बन्धि लघु बृत्तचित्रको आयोजना तथा बिभिन्न
संचार माध्यमहरुसंग आवद्ध रक्षा संवाददाताहरुलाई अभिमुखीकरण कार्यक्रमहरु
(Defense Correspondent Orientation Programme) आयोजना गरि सकिएको
र आगामी दिनहरुमा यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिइने
छ ।
१३. नेपाली सेनाका महिला सैनिकहरुको वृत्ति तथा
समुचित व्यवस्थापन गर्न तथा UN Resolution एवं अन्तर्राष्ट्रिय
संघसस्थाहरुले तोकेको मापदण्डहरु पुरा गर्नका लागि पहिलो पटक “महिला
महाशाखा” स्थापना गरी उक्त महाशाखाबाट महिला वृत्ति विकास सम्बन्धि
कार्य सञ्चालन भई रहेको छ । त्यसैगरी नेपाली सेनाका अधिकांश योग्य
अधिकृतहरु पदोन्नति हुन नपाई चांडै अवकाश लिनु पर्ने विद्यमान
वृत्तिविकास सम्बन्धी पुरानै ढर्राले गर्दा क्षमतावान् तथा योग्य
अधिकृतहरुमा नैराश्यता आई रहेको हालको समस्यालाई सम्बोधन गर्न
कार्यदल गठन गरी कार्यदलबाट पेश भएका सुझावहरु रक्षा मन्त्रालयमा
प्रस्तुतिकरण गर्ने काम भैसकेको छ र यसलाई यथाशिघ्र लागू गरिनेछ
। तत्पश्चात नेपाली सेनाभित्र वृत्तिविकास (Career Planning) लाई
समयानुकुल पारदर्शी बनाई “अति योग्य, बढी योग्य तथा योग्य” को अवधारणा
कार्यान्वयन गरिनेछ ।
१४. नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ पु-याएको
योगदानलाई मनन् गर्दै नेपाली सेनाको शान्ति सैनिक मिशनहरुमा सहभागितालाई
अझ बृद्धि गरिने लक्ष्य लिइएको छ । साथै सहभागिता सम्बन्धी वर्तमान
व्यवस्थालाई थप सरलीकृत र बिस्तार गरी सबैको सहभागितालाई सुनिश्चित
गर्न तत्कालिन कोटा वितरण प्रणालीमा परिमार्जन गरी १०–११ वर्ष
भित्र पहिलो पटक शान्ति सेनामा सम्मिलित गराउने नीति तय गरी ३
वर्ष भित्रमानै नयां नीति अनुरुप सहभागि गराउने लक्ष्य लिई कार्य
भएबाट हाल ८ वर्षको सेवा अवधि पुरा भएका ईन्फेन्ट्रितर्फका सकलदर्जाहरु
तथा बन्दोबस्ती कार्य गण बाहेकका साधारणतर्फका फाल्वर्सहरु शान्ति
सेनामा सहभागी भई रहेका छन् । त्यस्तै साधारण तर्फ १९ वर्ष ६ महिना
नोकरी पुगेका पदिकहरु र प्राविधिक तर्फ २१ वर्ष नोकरी पुगेका प्रा.पदिकहरु
दोश्रो पटक शा.से.मा सहभागी भई रहेका छन् । आगामी दिनमा समेत यस
नीतिलाई निरन्तरता दिईने छ ।
१५. नेपाली सेनाको लागि अत्यावश्यक भौतिक पूर्वाधारको
बिकासका कार्यक्रमहरुलाई विशेष जोड दिई कार्यहरु अघि बढी रहेको
छ । सोही अनुरुप ५१ प्रतिशत फौजको लागि भौतिक पूर्वाधार नपुग भएकोमा
गत वर्ष ७ प्रतिशत थप फौजको लागि आवास गृह निर्माण कार्य सम्पन्न
गरिएको र यस आ.व.मा १५ प्रतिशत थप फौजका लागि आवास गृह निर्माण
गर्ने योजना अनुरुप कार्यहरु भईरहको छ । साथै सकल दर्जाका परिवारहरुलाई
आवश्यक परिवार आवास भवन निर्माण कार्यलाई मध्यनजर राखी हाललाई
विभिन्न १० लोकेशनहरुमा १० आवास गृह बनाउने योजना रहेको छ ।
१६. सैनिक कल्याणकारी कोषलाई अझ बढी पारदर्शी
बनाउने नीति अनुरुप नियमित पत्रकार सम्मेलन, पर्चा पम्प्लेट र
वार्षिक मुखपत्र जस्ता प्रकाशन तथा नियमित रुपमा आन्तरिक लेखा
परिक्षण गर्ने कार्यहरुलाई निरन्तरता दिईएको छ । कल्याणकारी निर्देशनालयलाई
अझ बढी असरदार बनाउन म्यानेजमेन्ट क्षेत्रमा कार्यरत विशेषज्ञको
टोलीबाट प्रथम चरणमा निर्देशनालयको संगठनात्मक स्वरुप, आवश्यक
तालिम तथा कार्यालय वातावरण लगायतका क्षेत्रमा Macro Level मा
Diagnostic Study गरी प्राप्त सुझावहरुलाई क्रमशः कार्यान्वयन
गरिएको छ ।
१७. नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त
सैनिकका जेहेन्दार छोरा छोरीलाई कल्याणकारी कोषबाट संचालित सैनिक
कल्याणकारी छात्रवृत्ति (स्वदेश) तर्फ विगतमा वितरित रु. २००।–
प्रति महिनाको सुविधालाई क्रमशः रु. १००/१००।–,थप गरि हाल प्रति
महिना रु ४००।– तथा प्रधान सेनापति छात्रवृत्तितर्फ विगतमा प्रदान
गरिएको रु. ४००।– प्रति महिनाको सहुलियमा रु. २००।– थप गरि प्रति
महिना रु.६००।– बनाई वितरण गरिएको छ । यसबाट करीव १२७१२ व्यक्तिले
लाभ हासिल गरिरहेका छन् ।
१८. शिक्षा क्षेत्रमा विस्तार गर्ने क्रममा बिजेश्वरी
माध्यमिक विद्यालयलाई उच्च माध्यमिक तह, बाँसबारीस्थित रिपुमर्दनी
निम्न माध्यमिक विद्यालयलाई माध्यमिक तहमा विस्तार गरिने योजना
मुताविक कार्य अगाडि बढाइएको छ । त्यसै गरी भक्तपुरस्थित सैनिक
आवासिय महाविद्यालयमा २०० क्षमता भएको महिला छात्रावासको निर्माण
कार्य सम्पन्न भईसकेको छ । साथै सैनिक स्कूलहरुलाई देशको सबै विकास
क्षेत्रहरुमा विस्तार गरिने योजना अनुरुप सुदूर पश्चिम विकास क्षेत्र
अन्तर्गत धनगढीमा सुदूर-पश्चिमाञ्चल स्कुल स्थापनार्थ स्थलगत निरीक्षण
भ्रमण सम्पन्न भई आवश्यक प्रक्रियाहरु थालनी गरिएको छ ।
१९. कल्याणकारी कोषबाट सञ्चालित औषधोपचार ब्यवस्थालाई
अझ सरल, मितव्ययी, व्यवस्थित तथा सबैको पहुंच पु-याउन कल्याणकारी
कोषबाट रु.१३ करोड विनियोजन गरि कल्याणकारी औषधोपचार ब्यवस्था
कार्यालय तथा फेमली उपचार सेवा महांकालस्थानबाट वीरेन्द्र अस्पताल
छाउनीमा स्थानान्तरण गरी कार्य सुचारु गरिसकिएको छ । त्यसैगरी
प्रत्येक पृतना अन्तरगत रहेका पृतना मेडिकल गणहरुमा भुतपूर्व तथा
परिवारहरुलाई औषधि उपचार सेवाको लागि ओ.पि.डि. संचालन गरी बार्षिक
रु.१ करोड रकम बरावरको औषधी र रकम उपलब्ध गराईएको छ । साथै भुतपूर्व
तथा उनीहरुको परिवारलाई बाहालवाला सैनिक सरह नै आवश्यकता अनुसार
बिरामी डाईटको व्यवस्था गरिएको छ ।
२०. त्यस्तै बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा
र तिनका आश्रित परिवारहरु साथै कर्तव्य पालनाको सिलसिलामा वीरगती
प्राप्त सकल दर्जाका आश्रित परिवारहरुको लागि संचालित विभिन्न
कल्याणकारी कार्यक्रमहरुमा थप बृद्धि गरिएको छ । हालसम्म वीरगती
तथा घाइतेका परिवारहरु मध्ये योग्यता र क्षमता पुगेका ४८ जनालाई
विभिन्न दर्जामा नेपाली सेनाका विभिन्न निकायमा भर्ना गरिएको छ
। सेनामा भर्ना हुनको लागि योग्यता नपुगेकालाई कल्याणकारी योजना
मार्फत उनीहरुको क्षमता अनुसार रोजगारी अवसर दिलाई दिन पहल गरिएको
छ । आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई थप प्रभावकारी तुल्याउँदै
लगिनेछ ।
२१. साथै बन्दोबस्ती कार्य गणमा कार्यरत ५०५
जना सैनिक व्यक्तिहरुमध्ये २२७ जनालाई मात्र राशन सुविधा उपलव्ध
गराई रहेकोमा वांकी २७८ जना र जंगी असवाव खाना पालघर शाखाका १४
जना समेत गरी जम्मा २९२ जनाको लागि पनि मिति २०६७ श्रावण १ गतेबाट
राशन सुविधा उपलव्ध गराईएको छ ।
२२. नेपाली सेनाको विभिन्न पर्व तथा उत्सवहरुमा
लगाउने करीव ४३ वर्ष अगाडी लागू गरिएको पोशाकहरुमा प्रयोग भई रहेको
दज्यार्नी चिन्हहरु तथा उत्सविय पोशाकलाई सरल, मितव्ययी, मौसम
अनुकूल, समय सापेक्ष एवं अन्तर्राष्ट्रिय प्रचलनसंग मिल्दोजुल्दो
हुने गरी हाल प्रयोगमा रहको पोशाकका रङ्ग र डिजाईन परिवर्तन गरि
नयाँ उत्सवीय पोशाक सरकारलाई थप आर्थिक भार नपर्ने गरी आफ्नै स्रोतबाट
खरिद गरि सम्पूर्ण अधिकृतहरुलाई निःशुल्क वितरण गर्न मिलाईएको
छ ।
२३. त्यस्तै वर्तमान विश्व परिवेशमा नेपाली सेनाले
अन्य मित्रराष्ट्रहरुसंग सैनिक सम्वन्ध (Military Relation) विस्तार
एवं एक आपस वीचको सुमधुर सम्बन्धलाई थप मजवुत तुल्याउदै ती मुलुकहरुबाट
प्राप्त हुने सहयोग एवं सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले गरिएको
आपसी सद्भाव भ्रमणहरु निकै फलदायी रहेको छ । सोही सन्दर्भमा मित्रराष्ट्र
बेलायतका सेनाध्यक्षको निमन्त्रणामा उक्त देशको औपचारिक भ्रमण
र मित्रराष्ट्र अमेरिकाको Pacific Commander तथा दक्षिण कोरियाका
सेनाध्यक्षको निमन्त्रणामा Chiefs of Defense Conference मा सहभागी
भएको । त्यसैगरी, हाम्रो औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतको
सेनाध्यक्ष र बेलायतका सेनाध्यक्ष तथा मित्रराष्ट्र अमेरिकाको
Pacific Commander बाट नेपालको भ्रमण भएको थियो । यसबाट आपसी सैनिक
सम्बन्धलाई अझ सुमधुर तथा प्रगाढ बनाउनुका साथै मित्रराष्ट्रहरुबाट
प्राप्त सहयोग अत्याधिक बृद्धि भएको र अझ बृद्धि गर्न तत्पर रहेको
छ । यसै सिलसिलामा हाम्रो निमन्त्रणामा निकट भविष्यमा मित्रराष्ट्र
चीनको सेना प्रमुखबाट नेपालको भ्रमण हुने कार्यक्रम रहेको छ ।
२४. सोही अनुरुप अमेरिकी सरकारले नेपाली सेनालाई
उपलब्ध गराउँदै आएको तालिम सहयोगमा १० लाख डलर बृद्धि गर्नुका
साथै करिब ११ लाख डलर बराबरको Disaster Management Equipment तथा
सुडानको डार्फरमा तैनाथ नेपाल सेनालाई करिव ३० लाख डलर बराबरको
Heavy Vehicles हरु मिशन इलाकामा उपलब्ध गराई सकेको छ । त्यस्तै
भारत भ्रमण पश्चात विगत ६ वर्षदेखि रोकिएको सैनिक सहयोग सुचारु
भएबाट गत वर्ष विभिन्न प्रकारका १०० वटा सवारी साधनहरु तथा डिफेन्स
स्टोरका सामानहरु प्राप्त भएका छन् र आगामी दिनहरुमा अन्य थप सामग्रीहरु
पनि उपलब्ध हुने क्रममा छन् । साथै बेलायत सरकारबाट वीरेन्द्र
शान्ति तालिम केन्द्रको स्तरोन्नति तथा EOD/Demining क्षमता अभिवृद्धि
गराउन करिव रु. ४ करोड बरावरको सहयोग उपलव्ध गराएको छ । त्यस्तै
चीन सरकारबाट गत वर्ष विकास निर्माणका लागि आवश्यक हेभि ईक्विपमेन्टहरु
प्राप्त भई सकेको छ, निकट भविष्यमा वीरेन्द्र सैनिक अस्पतालमा
आधुनिक प्रविधियुक्त मेशिनरी सामाग्रीहरुको व्यवस्था गरी दिने
मनसाय व्यक्त गरेको छ ।
२५. आगामी दिनमा नेपाली सेनालाई अझै समयानुकूल,
परिष्कृत र सक्षम बनाउँदै लैजान माथि उल्लेखित विभिन्न क्षेत्र
तालिम, आवास, स्वास्थ्य, शिक्षा, शान्ति सेना, कल्याणकारी कोष
आदिमा भएको विस्तार एवम् परिवर्तनलाई निरन्तरता दिंदै जाने कुरामा
विश्वस्त तुल्याउन चाहन्छु । अन्त्यमा, सेना दिवसको यस महान् अवसरमा
राष्ट्रिय सुरक्षाको मेरुदण्डको रुपमा स्थापित नेपाली सेनाको गैर
राजनैतिक चरित्रलाई कायम राख्दै पेशागत रुपमा दक्ष एवं गौरवमय
संस्थाको रुपमा बिकसित गर्दै लैजाने कार्यमा सहयोग गर्ने राष्ट्रिय
तथा अन्तर्राष्ट्रिय सबै क्षेहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै
आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु ।
धन्यबाद ।
|
|
(छत्र मान सिंह गुरुङ्ग) |
|
|
महारथी |
|
|
प्रधान सेनापति |
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्वर)
को उपलक्ष्यमा प्रधानसेनापतिबाट सकल दर्जालाई दिनु भएको सन्देश
१. संयुक्त राष्ट्र संघले १० डिसेम्वर १९४८ का दिन मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र (Universal Declaration of Human Rights)जारी गरेको सन्दर्भमा हरेक बर्ष संसारभर संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले १० डिसेम्वरलाई विश्वभरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउँदै आएको छ ।
२. नेपाली सेनाले सदैव मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको सर्वमान्य सिद्धान्तलाई पूर्ण रुपमा पालना गर्दै आइरहेको छ । जस अनुरुप संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेख भए बमोजिम मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षण र सम्बद्र्धन गर्नमा शुन्य सहिष्णुताको सिद्धान्त (Zero Tolerance Policy) अवलम्बन गरी व्यवहारमा समेत उतारी सकेको छ ।
३. बिगतको द्धन्द्धमा नेपालको बैधानिक संसद र सरकारबाट नेपाली जनताको हकहित, अधिकार तथा मानव अधिकार संरक्षण गर्ने कार्यमा नेपाली सेनालाई परिचालन गर्दा सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा नेपाली सेनाका तर्फबाट भए गरिएका भनिएका नगन्य मानव अधिकारका घटनाहरु नेपाली सेनाको नीति विपरित भएकाले सम्बन्धित हनन कर्ताहरुलाई प्रचलित कानुन बमोजिम दण्डित गरी यस संस्थामा कहिल्यै पनि दण्डहिनताको अवस्था नरहेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पुगी सकेको छ ।
४. नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता एवं राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्दै भविष्यमा आई पर्न सक्ने जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने सक्षम सेनाको रुपमा स्थापित गर्नको लागि गत बर्ष तालिम बर्षको रुपमा घोषणा गरी निर्देशनालय, फर्मेशन तथा युनिटहरुमा सञ्चालन हुने सम्पूर्ण बृत्ति विकासका तालिमहरुमा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनका विषयहरुलाई अनिवार्य रुपमा समावेश गरी सकल दर्जाहरुलाई यथेष्ट जानकारी गराउँदै आउनु भएकोमा सबै तहका पतिहरुलाई धन्यवाद दिदै भविष्यमा पनि निरन्तरताको अपेक्षा गर्दछु ।
५. महिला अधिकार, शान्ति र सुरक्षाका सम्बन्धमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्धारा पारित UNSCR 1325 / 1820 सम्बन्धमा नेपाली सेनामा तालिम/गोष्ठी/सचेतना कार्यक्रमहरु संचालन गर्न नेपाल सरकारको तर्फबाट Promoting Gender Responsive Security Sector (PROGRESS) कार्यक्रममा श्री रक्षा मन्त्रालयले UNIFEM सँग यस बर्ष समझदारी पत्र (MOU) हस्ताक्षर गरी संचालन गर्ने भनिए बमोजिम नेपाली सेना र UNIFEM बिच सो कार्यक्रमको लागि Letter of Agreement (LOA) भई सकेको छ । यसबाट नेपाली सेना अझ बढि मानव अधिकार र यसका विविध पक्षहरुमा बढि संवेदनशिल भई कार्य गरेको प्रमाणित
हुन्छ ।
६. अन्तमा, आजको यस महत्वपूर्ण दिनमा नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षण र सम्वद्र्धनमा प्रतिवद्ध रहँदै सुम्पिएको जिम्मेवारीलाई बफादारीपूर्वक निर्वाह गरी नेपाल र नेपाली जनताको छवीलाई सदाझै राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा समेत उच्च राख्न सफल रही रहनेछ भन्ने शुभकामना दिन चाहन्छु । साथै यस क्षेत्रमा नेपाली सेनालाई सहयोग गर्ने सबै सरकारी निकाय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।
“नववर्ष–२०६७” को उपलक्ष्यमा नेपाली सेनाका सकल दर्जालाई प्रधान सेनापतिको सन्देश
१. “नबवर्ष—२०६७” को शुभ–उपलक्ष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत नेपाली सेनाका सम्पूर्ण बहालवाला तथा भूतपूर्व सैनिक, निजामति कर्मचारी एवं तिनीहरुमा आश्रित परिवारप्रति सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
२. सर्वप्रथमतः म राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षा तथा नेपाली जनताको शान्ति र आधारभूत हकहितको संरक्षणका लागि इतिहासदेखि वर्तमानसम्म आफ्नो प्राण आहुति गर्ने वीर विराङ्गनाहरुको उच्च सम्मान गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । त्यसै गरी कर्तव्यपालनाको सिलसिलामा अङ्गभङ्ग भई पुनस्र्थापनाको क्रममा रहेका सम्पूर्ण घाईते विरामीहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछु ।
३. वर्तमान चुनौतीपूर्ण परिस्थितिमा नेपालको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता तथा स्वतन्त्रताको प्रतिरक्षा गर्न कटिवद्ध नेपाली सेना, नेपाली जनताको चाहना र भावना अनुरुप हरहमेशा राष्ट्र तथा जनताको हितलाई सर्वोपरी ठानी संवैधानिक परिधिभित्र रही सरकारले सुम्पिएको जिम्मेवारी निभाउन सदा झैं गहन भूमिका निर्वाह गर्न नितान्त जरुरी छ । सोको लागि सबै तहका कमाण्डहरुले आफ्नो उच्च पेशागत क्षमता तथा अराजनैतिक चरित्रलाई अक्षुण्ण राखी अनुशासित एवं पेशेवर तरिकाले प्राप्त जिम्मेवारीहरु कार्यान्वयन गर्न भौतिक एवं मानसिक दुवै रुपमा उच्चतम तयारी रहन आवश्यक देख्दछु ।
४. “नयाँ वर्ष–२०६७” को यस सुखद अवसरमा नेपाली सेना राष्ट्रकै साझा शक्ति हो भन्ने भावना आम नागरिकमा उजागर गर्दै लैजानु नै हालको वास्तविकता हो भन्ने तथ्यलाई मनन् गर्दै नेपाली सेना सदा झैं राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता तथा राष्ट्रवासीको कल्याणको लागि संस्थागतरुपमा लागि रहने कुरामा सबैलाई विश्वस्त तुल्याउन चाहन्छु ।
५. अन्त्यमा, नयाँ वर्षमा हामी सबै नेपालीले दीगो शान्ति, सुरक्षाको प्रत्याभूती गर्दै आर्थिक समुन्नति तर्फ अघि बढ्न सकोस भन्ने कामना गर्दै सबैमा पुनः नयाँ वर्ष २०६७ को शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद
।
|
|
(छत्र मान सिंह गुरुङ्ग) |
|
|
महारथी |
|
|
प्रधान सेनापति |