प्रधानसेनापतिद्वारा क्यामब्रियन पट्रोल अभ्यासमा सहभागी हुन जाने टोलीको बिदाई

१. आज मिति २०७२ आश्विन १५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा क्यामब्रियन पट्रोल अभ्यासमा सहभागी हुन जाने श्री बर्दबहादुर गणको टोलीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच बिदाई गर्नुभएको छ । 

२. मित्रराष्ट्र बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा मिति २०७२ कात्तिक २ गतेदेखि ऐ ४ गतेसम्म संचालन हुने क्यामब्रियन पट्रोल अभ्यास–२०१५ मा सहभागि हुनको लागि पेशागत प्रतियोगिता २०७० अभ्यास कुरुक्षेत्रमा द्धितीय हुन सफल श्री बर्दबहादुर गण छनौट भएको हो । उक्त टोली मिति २०७२ असोज १७ गते बेलायत तर्फ प्रस्थान गर्नेछ । 

३. गत वर्ष नेपाली टिम सहित १८ देशका ११९ सैनिक टिमहरु सहभागी भएको क्यामब्रियन पट्रोल अभ्यासमा नेपाली सेनाको टिमले पहिलो पटकको सहभागितामा उच्च पेशागत दक्षता प्रदर्शन गरी सिल्भर मेडल हासिल गरेको थियो ।

४. संसारकै सेनाहरुको लागि अत्यन्त कठिन तथा चुनौतिपूर्ण मानिएको यस प्रतिस्पर्धात्मक पट्रोल अभ्यासमा गत वर्ष पाएको सफलतासंगै नेपाली सेनाले अबलम्बन गर्दै आएको तालिम–नीति तथा गतिविधीहरु अब्बल रहेको प्रष्ट हुन्छ भने यस्ता प्रकारका अन्तर्राष्ट्रिय स्तरको सैनिक अभ्यासहरुमा भाग लिने कार्यबाट नेपाली सेना र अन्य देशका सेनाहरुबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।