प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा “प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७२” को समुद्घाटन

१. आज मिति २०७२ आश्विन १९ गते लगनखेलस्थित श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा एक बिशेष समारोहकाबीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७२” को समुद्घाटन गर्नु भएको छ । 

२. उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री राजेन्द्र बहादुर कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो । समारोहको प्रारम्भमा सहभागी १२ वटा टिमले मार्च पाष्ट प्रस्तुत गरेका थिए भने पि.टि.स्कुलका खेलाडीहरुबाट कम्ब्याट रुटिन र त्रिभुवन आर्मी क्लबका खेलाडीहरुबाट उसु, साम्बा, जिम्न्यास्टिक, फुटबल लगायतका खेलको कला प्रदर्शन गरिएको थियो । यसैगरि, ६ वटै पृतनाहरुको संयोजनमा फरक फरक जातजातीहरुको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी नृत्यहरु र सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो । 

३. नेपाली सेनाको ६ वटा पृतनाहरु तथा मद्दती फौज, निर्देशनालय र बिशेष फौज गरी जम्मा १२ वटा टिम सहभागी रहेको उक्त प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, महिला बक्सिङ्ग, महिला तेक्वान्दो, भलिवल, बास्केटवल, फुटवल, ह्याण्डबल, साईक्लिङ्ग कबड्डी लगायतका खेलहरु समाबेश गरिएको छ । 

४. समुद्घाटनको अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले साईक्लिङ्ग तर्फ २० कि.मि. र ४० कि.मि., एथ्लेटिक्स तर्फ ४०० मिटर महिला दौड र ८०० मिटर पुरुष दौडका खेलाडीहरुलाइ पुरस्कार वितरण गुर्नभएको थियो । साईक्लिङ्ग २० कि.मि. तर्फ सि. दीपक भण्डारी प्रथम भएका छन् भने प्युठ दीपक खडायत र हुद्धा प्रेम सिंह मन्याल क्रमशः द्वितीय र तृतीय भएका छन् । त्यसैगरि, साईक्लिङ्ग ४० कि.मि. तर्फ प्युठ हिमाल टमाटा, सि. राजेन्द्र चेम्जोङ्ग र अम. मान बहादुर थापा क्रमसः प्रथम, द्वितीय र तृतीय भएका छन् । यसैगरि महिला ४०० मिटर दौडतर्फ प्युठ कृष्णा चौधरी (१ मिनेट ०० सेकेण्ड ६० मिनी सेकेण्ड), सि. सरस्वती भट्टराई (१ मिनेट ०१ सेकेण्ड ०८ मिनी सेकेण्ड) र प्युठ दुर्गा देवकोटा (१ मिनेट ०३ सेकेण्ड ७६ मिनी सेकेण्ड) क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरि, पुरुषतर्फको ८०० मिटर दौडमा गनर सोम कुमाल (१ मिनेट ५९ सेकेण्ड ५९ मिनी सेकेण्ड), गनर उमेश मस्याङगी मगर (१ मिनेट ५९ सेकेण्ड ९८ मिनी सेकेण्ड) र सि. जीवन चौधरी (२ मिनेट ०० सेकेण्ड ८९ मिनी सेकेण्ड) क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यसैगरि साईक्लिङ्ग तर्फ टिम च्याम्पियनमा प्रथम हुने मध्य पश्चिम पृतना हे.क्वा.को टोलीलाई प्रधान सेनापति महारथी श्री क्षत्रीले नगद तथा ट्रफ्रि प्रदान गर्नु भएको थियो भने द्वितीय र तृतीय हुने क्रमशः सुदूर पश्चिम पृतना हे.क्वा. र पूर्वी पृतना हे.क्वा.को टिमलाई नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।  

५. उक्त समुद्घाटन कार्यक्रममा रक्षा सचिव श्री ईश्वरी प्रसाद पौडेल, अन्य सुरक्षा निकायका प्रमुखहरु, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, अखिल नेपाल फुटबल संघका पदाधिकारीहरु, रथीबृन्द, नेपालस्थित बिदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृत लगायत संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

६. उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी उनीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्न २०६५ सालबाट सुरु गरिएको प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलकुदको विकासका लागि कोसेढुङगा सावित हुने नेपाली सेनाले विश्वास लिएको छ ।