प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पश्चिम पृतना हे.क्वा. र अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७२ आश्विन २१ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पोखरा लामाचौर स्थित गण्डकी बोर्डिङ्ग स्कुलको स्वर्ण महोत्सवको अवसरमा आयोजित स्पोर्टस् मिटमा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भई बुटवल स्थित नं.२२ बाहिनी अड्डा, सैनामैना स्थित श्री नं.२ सैन्य तालिम गण तथा गोरुसिंगे स्थित कालीजंग गणको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ । सोही क्रममा सकलदर्जालाई सम्बोधन गर्नु हुँदै परिस्थिती सुहाउँदो तालिम एवं जुनियर लिडरहरुको बृत्ति बिकासमा जोड दिई नेपाली सेना सदा झै बलियो चट्टान जस्तै एक ढिक्का भई सेनाको मूल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई उच्च मनोबलका साथ निस्वार्थ, अनुशासित, संयम एवम् पेशेवर ढंगले नेपाली सेनाको छविलाई अझ उच्च राख्न सकलदर्जालाई निर्देशन दिनुभएको छ । त्यसैगरी प्रधान सेनापति श्री क्षत्रीले सैनामैनास्थित नं.२ सैन्य तालिम गण हाताभित्र नवनिर्मित सैन्य व्यारेक घरको समुद्घाटन गर्नु भएको छ । 

३. प्रधानसेनापति श्री क्षत्री आज पश्चिम पृतना हे.क्वा.मा मुकाम हुनु भई भोली मिति २०७२ आश्विन २२ गते पोखरास्थित नं.३ बाहिनी अड्डा र बाग्लुङ्गस्थित नं. २३ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।