“बडादशैं २०७२” को उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फुलपाती बढाइँ कार्यक्रम सम्पन्न

१. आज मिति २०७२ कार्तिक ०३ गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति डा. श्री रामवरण यादवज्यूको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुडिंखेलमा नेपाली सेनाद्वारा आयोजित फुलपाती बढाइँ कार्यक्रम सम्पन्न भएको छ । 

२. उक्त कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथी सम्माननीय राष्ट्रपतिज्यूमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने “बडादशैं २०७२” को उपलक्ष्यमा नेपाली सेनाले राईफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै एकठ्ठा बढाइँ, सबै पाटाले एकठ्ठा बढाइँ, षट्कोण फर्मेशनबाट बढाइँ र एकसाथ लहरे बढाइँ गरेको थियो भने विभिन्न तोपबाट समेत लहरे तथा एकठ्ठा बढाइँ गरेको थियो । त्यसैगरी सोही अवसरमा बढाइँ कवाज टोलीले नेपाली सेनाकोे चिन्ह षट्कोण तथा राष्ट्रिय झण्डाको आकृति प्रदर्शन गरेको थियो भने बढाइँ कवाजमा भाग लिने टोलीहरुले ईज्जत अर्पण (मार्च पाष्ट) कवाज समेत प्रदर्शन गरेको थियो । 

३. नेपाली सेनाद्वारा आयोजित उक्त फुलपाती बढाइँ समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, मन्त्रीगणहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्वप्रधानसेनापति तथा पूर्वरथीबृन्दहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, रथीबृन्दहरु, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्न क्षेत्रका लब्ध–प्रतिष्ठित व्यक्तित्वहरु, सेनानी समुह लगायत संचारकर्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।