नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई Mounted Police प्रयोजनको लागि घोडा हस्तान्तरण

१. आज मिति २०७२ कार्तिक २३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लब परिसरमा एक बिशेष समारोहका बीच नेपाली सेनाद्वारा Mounted Police प्रयोजनको लागि नेपाली सेनासंग रहेका घोडामध्ये १० (दश) वटा घोडा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । 

२. काठमाण्डौ उपत्यकामा जनसंख्या सँगै सवारीसाधनहरुको संख्यामा पनि तीब्र्ररुपले बृद्धि भइरहेको र सवारी आवागमनलाई सुचारु गर्न Mounted Police को अवधारणा अनुरुप घोडाहरुको प्रयोग अति प्रभावकारी हुने भएकाले ट्राफिक व्यवस्थापनलाई थप सुदृढ गर्न आज प्रधान सेनापति महारथी श्री क्षत्रीले नेपाल प्रहरीका महानिरीक्षक श्री उपेन्द्रकान्त अर्याललाई घोडाको मोमेण्टो प्रदान गरी १० वटा घोडा हस्तान्तरण गर्नु भएको हो । 

३. नेपाली सेनाको क्याभलरीमा रहेका सुजाता, अस्मिता, आकृति, आशीष, हेमन्त, सुधीर, आर्य, कल्प, रोजिना र पार्वती नामक घोडाहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो । घोडा हस्तान्तरण कार्यक्रमपश्चात् प्रधान सेनापति महारथी श्री क्षत्री र महानिरीक्षक श्री अर्यालले हस्तान्तरण गरिएका घोडाहरुको निरीक्षण समेत गर्नु भएको थियो ।

४. झण्डै मध्य यूगीन मानव सभ्यताको विकाससँगै सुरुवात भएको घोडा पालन र प्रयोग सैनिक पेशामा सयौं बर्षअघिदेखि प्रयोग हुंदै आएको पाईन्छ । आदिम कालका घोडाहरु सैनिक फौजका भरपर्दा सवारी साधन थिए । घोडाहरु छिटो, छरितो, अग्लो तथा बलियो हुने भएकाले प्रथम विश्वयुद्धका क्रममा धेरै घोडाहरुको प्रयोग भएको पाइन्छ । १७ औं÷१८ औं शताब्दीताका माउण्टेन्ड इन्फेन्ट्रीका रुपमा रहेका फौजहरुलाई पछि क्याभलरीका रुपमा परिणत गरिएको थियो भने विश्वयुद्धपछिको समयमा यसलाई मेकनाइज्ड इन्फेन्ट्री र मोटराइज्ड इन्फेन्ट्रीका रुपमा विकास गरिएको पाइन्छ । 

४.  उक्त कार्यक्रममा रक्षा सचिब श्री ईश्वरी प्रसाद पौंड्याल, गृह सचिब श्री सुर्य सिलवाल, नेपाली सेनाका रथीबृन्द, अधिकृतहरु तथा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । 

५. यस किसिमको सहयोगले नेपाली सेना र नेपाल प्रहरीबीच लामो समयदेखि रहंदै आएको सौहाद्रपूर्ण सम्बन्ध थप प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ ।