माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा पांचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा नवनिर्मित महिला सैनिक मैत्री भवनको समुद्घाटन

१. रक्षा मन्त्रालय तथा श्री शान्तिकोष सचिवालय बीच सम्झौता भए बमोजिम नेपाली सेनाको पांचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, परिसरमा नवनिर्मित महिला सैनिक मैत्री भवनको आज मिति २०७२ मंसिर ११ गते माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम रावलद्वारा एक समारोहका बीच समुद्घाटन गर्नु भएको छ । 

२. सोही अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम रावलले आप्mनो मन्तव्य व्यक्त गर्नुहुंदै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र दक्षिण एसियाकै एक उत्कृट तालिम केन्द्रको रुपमा रहेको र विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाको अहम भूमिका रहेको बताउनु भएको छ । यसैक्रममा विश्व शान्ति कार्यमा समेत महिलाहरुको उल्लेख्य मात्रामा सहभागीता तथा बृद्धिले समानुपातिकताको उदाहरण प्रस्तुत गरेको बताउनु हुंदै "आमविनाशकारी भूकम्प-२०७२" को समयमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यमा पुर्‌याएको अतुलनिय योगदानको समेत खुलेर प्रशंसा गर्नु भएको छ । साथै समुद्घाटन कार्यक्रम पश्चात् वहांले उक्त तालिम केन्द्रको स्थलगत निरीक्षण भ्रमण समेत गर्नु भएको थियो । 

३. यसैबीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले धन्यवाद मन्तव्य व्यक्त गनहुंदै उक्त भवन निर्माण गर्न अभिन्न सहयोग पुर्‌याउनु हुने श्री रक्षा मन्त्रालय, श्री शान्ति तथा पुनर्निर्माण मन्त्रालय, श्री शान्ति कोष सचिवालय लगायत भवन निर्माण कार्यमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा संलग्न सबैमा नेपाली सेनाको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको थियो । 
 
४. कार्यक्रमको शुभारम्भमा केन्द्रका केन्द्रपतिद्वारा स्वागत मन्तव्य एवं केन्द्रको संक्षिप्त जानकारी, रक्षा मन्त्रालयका सह सचिवद्वारा प्रोजेक्ट सम्बन्धी जानकारी र ईन्जिनियर विभागका प्राविधिक उपरथी श्री योगेन्द्र बहादुर खांणद्वारा भवन डिजाईन सम्बन्धी जानकारी गराउनु भएको थियो । 

५. उक्त कार्यक्रममा रक्षा सचिव, नेपाली सेनाका बलाधिकृत रथी लगायत अन्य रथीबृन्दहरु, रक्षा मन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयका पदाधिकारीहरु, अधिकृत एवं Steering Committee का सदस्यहरुको समेत उपस्थिति रहेको थियो । 

६. नेपाली सेनामा क्रमिकरुपमा महिला सैनिकहरुको सहभागितामा उल्लेख्य अभिबृद्धिसंगै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा यस किसिमको सुविधायुक्त भवन निर्माणले शान्ति सेनामा सहभागी हुनुपूर्व प्रदान गरिने महत्वपूर्ण Pre-Deployment तालिममा सहभागी हुन आउने महिला सैनिकहरु तथा दरवन्दीमा रहेका अन्य महिला सैनिकहरुलाई महिला मैत्री वातावरण श्रृजना भई कार्यदक्षतामा गुणात्मक सुधार ल्याउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।