अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को उपलक्ष्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट सकलदर्जालाई दिनु हुने सन्देश

१. संयुक्त राष्ट्रसंघको साधारण सभाले “मानव अधिकारको विश्वव्यापी घोषणापत्र "(Universal Declaration of Human Rights, 10 December 1948)" जारी गरेको १० डिसेम्बरलाई “अन्तर्राष्ट्रिय मानव अधिकार दिवस” को रुपमा मनाउने गरिएको । 

२. अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा मिति २०७२ मंसिर २४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट नेपाली सेनाका सकलदर्जालाई दिनु हुने सन्देश यसैसाथ संलग्न गरिएको छ ।


श्री प्रधान सेनापतिज्युबाट “अन्तर्राष्ट्रिय मानव अधिकार दिवस”को
उपलक्ष्यमा सकलदर्जालाई प्रदान गर्नु भएको सन्देश
(मिति २०७२∕०८∕२४ गते, १० डिसेम्बर २०१५)

१. संयुक्त राष्ट्र संघबाट "मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र "(Universal Declaration of Human Rights)" जारी भएको दिन १० डिसेम्बरलाई संयुक्त राष्ट्र संघका सम्पुर्ण सदस्य राष्ट्रहरुले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउंदै आएको व्यहोरा विदितै छ । 

२. नेपाली सेनालाई पेशागत सैनिक तालिम तथा शिक्षाद्वारा एक ब्यवसायिक सेनाको रुपमा थप विकास गर्दै लैजाने लक्ष्य अनुरुप सैनिक ऐन २०६३ मा भएको प्रावधान बमोजिम नेपाली सेनामा संचालन हुने पेशागत तालिमहरुमा मानव अधिकार तथा मानविय कानुन सम्वन्धी ज्ञान समेत प्रदान गरिंदै आएको छ ।

३. संयुक्त राष्ट्र संघको आव्हनमा विश्वका विभिन्न द्वन्द्वग्रस्त स्थानहरुमा परिचालित भई शान्ति स्थापनामा नेपाली सेनाले पुर्‌याएको महत्वपुर्ण योगदान बारे सवैलाई जानकारी भएकै विषय हो । यसैगरी, नेपालको संविधान वमोजिम परिचालित हुनु परेको अवस्थामा मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानविय कानुनको पुर्ण पालना प्रति हरेक कमाण्डर तथा जवान पुर्ण सचेत एवं सजग होउन् भन्ने उद्देश्यले नेपाली सेनाको हरेक युनिटको अपरेशन अर्डरहरुमा मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानविय कानुन सम्वन्धी प्रावधान अनिवार्य रुपमा समावेश गर्दै आएको तथ्य स्मरण गराउंदै सो कार्यलाई निरन्तरता दिनु हुन हरेक तहको कमाण्डरहरुलाई निर्देशन गर्दछु ।

४. नेपालको अन्तरिम संबिधान २०६३ र बिस्तृत शान्ति सम्झौता बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग गठन भई क्रियाशिल भई सकेका छन् । आयोगहरुबाट विस्तृत शान्ति सम्झौताको प्रावधान, शान्तिको मूलमर्म र भावनालाई सम्बोधन गर्दै संक्रमणकालिन न्याय सम्पादन हुनेमा नेपाली सेना बिश्वस्त छ ।

५. देशमा विद्यमान हालको असहज अवस्थाका कारण आम सर्वसाधारण नागरिकले झैं सैनिक जवान तथा निजका परिवारहरुले समेत प्रत्यक्ष वा परोक्ष रुपमा विभिन्न कठिनाईहरु भोगीरहनु परेको अवस्था छ । प्रतिकुल परिस्थितिको बावजुद समेत एक राष्ट्र सेवक सैनिकका साथै सचेत नेपाली नागरिकको नाताले संयमित भई मातृभुमि तथा नेपाली जनताको सेवामा कटिबद्ध नेपाली सेनाका सम्पुर्ण सकलदर्जाहरुलाई ६७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवशको उपलक्ष्यमा शुभकामना दिन चाहन्छु । 

धन्यवाद ।