प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा पाइलट आधारभुत तालिमको विङ्ग प्रदान समारोह सम्पन्न

१. नेपाली सेनाको गौचरस्थित श्री हवाई तालिम केन्द्रमा मिति २०७१/०४/१६ गतेबाट संचालन भएको सि.सं. २ पाइलट आधारभूत तालिमको आज मिति २०७२ मंसिर २८ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा विङ्ग प्रदान समारोह सम्पन्न भएको छ ।
 
२. गरिमामय ईतिहास बोकेको नेपाली सेनाले करिव ९ बर्षको अन्तरालमा ३ जना शिक्षार्थी सहभागी गराई दोश्रो पटक स्वदेशमै पाईलट आधारभुत तालिम सम्पन्न गरेको छ । यसअघि नेपाली सेनाले ऐतिहासिक रुपमा नेपालमै पहिलो पटक २०६३ सालमा ६ जना अधिकृत शिक्षार्थी सहभागी गराई सि.सं. १ पाइलट आधारभुत तालिम सम्पन्न गर्न सफल भएको थियो । 

३. उक्त अवसरमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले मन्तव्य व्यक्त गर्नुहुंदै आगामी दिनहरुमा पनि हेलिकप्टर तथा फिक्स्ड विङ्गबाट नेपाली सेना र गैर सैनिक व्यक्तिहरुलाई समेत नागरिक उड्डयन प्राधिकरणसंग समन्वय गरी पाईलट आधारभुत तालिम प्रदान गर्न सकिने सम्भाव्यताबारे सोच्न आवश्यक रहेको बताउनु भएको छ । यसैगरी वहांले नेपाली सेनासंग भएको हवाई साधन, श्रोत तथा जनशक्ति नेपालको भौगोलिक अवस्थालाई दृष्टिगत गर्दा सैनिक प्रयोजनमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक उद्दार, विकास निर्माण लगायत गैर-सैनिक प्रयोजनमा समेत यसको महत्व रहेकोले एक राष्ट्रिय साधनको रुपमा दिर्घकालीन सोच बमोजिम उचित योजना बनाई प्रभावकारी रुपमा व्यवस्थापन गरि विकास गर्न अत्यावश्यक रहेको बताउनु भएको छ ।    

४.   सोही क्रममा वहांले हालैको विनाशकारी भूकम्पको दौरान खोज, उद्वार तथा राहत वितरण कार्यमा नेपाली सेनाको कुशल चालक र हवाई साधनको योगदान उल्लेखनीय र स्मरणीय रहेकोले आगामी दिनमा नेपाली सेनाको सैनिक हवाई सेवा (Army Aviation) ले भविष्यका चुनौतिहरुलाई सामना गर्नसक्ने गरी आफ्नो कार्य क्षमता (Efficency) तथा कार्य दक्षता (Effectiveness) लाई अझै उचाईमा पुर्यालउनेमा विश्वस्त रहेको समेत बताउनु भएको छ । 

५. उक्त कार्यक्रमको शुभारम्भमा सैनिक हवाई महानिर्देशनालयका निमित्त महानिर्देशक पाइलट सहायक रथी श्री सुधिर श्रेष्ठ र हवाई तालिम केन्द्रका प्रमुख पाइलट महा सेनानी श्री आशिष नरसिंह राणाले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
 
६. उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नागरिक उड्डयन प्राधिकरण तथा फ्लाईट सेफ्टी स्ट्याण्र्ड डिपार्टमेन्टका वरिष्ठ अधिकृतहरु लगायत नेपाली सेनाका अन्य अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।