“प्रधान सेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७२” सम्पन्न

१. नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा मिति २०७२ पौष ०६ गतेबाट संचालन भएको “प्रधान सेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७२” आज मिति २०७२ पौष १२ गते जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच सम्पन्न भएको छ । त्रिभुवन आर्मी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिमबीच भएको फाईनल खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले त्रिभुवन आर्मी महिला फुटवल टिमलाई २–० गोल अन्तरले पराजित गरी उपाधि जितेको हो । उक्त फाइनल खेलमा सशस्त्र महिला फुटबल टिमका लागि अनिता बस्नेतले खेलको १४ औं मिनेटमा र सावित्री भण्डारीले ६४ औं मिनेटमा गोल गरेका थिए ।   
२. उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सशस्त्र प्रहरी महिला फुटबल टिमलाइ प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले ट्रफी, मेडल र नगद रु.३,००,००० (तीन लाख) प्रदान गर्नु भएको थियो भने द्वितीय भएको त्रिभुवन आर्मी महिला फुटवल टिमलाई मेडल तथा प्रमाणपत्र र नगद रु १,५०,००० (एकलाख पचास हजार) प्रदान गर्नु भएको थियो । सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्न सफल आर्मी महिला फुटबल टिमकी अञ्जली वाईवालाई प्रधान सेनापति श्री क्षत्रीले नै स्कुटर प्रदान गर्नुभएको थियो । 

३. यसैगरि, प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट फरवार्डमा सशस्त्र प्रहरी महिला फुटबल टिमका क्रमशः रत्न काजी महर्जन,  अन्जीला तम्वपो सुब्बा, हिरा कुमारी भुजेल, सावित्रा भण्डारी र उत्कृष्ट मिडफिल्डरमा त्रिभुवन आर्मी महिला टिमकी दिपा राइ घोषित भए । 

४. नकआउटका आधारमा संचालन गरिएको उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतका महिला फुटवल टिम दुई, विगतका पाँच विकास क्षेत्रका ५ महिला फुटवल टिम लगायत विभागीय टिमहरु त्रिभुवन आर्मी महिला फुटवल टिम, नेपाल प्रहरी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटबल टिम गरी कूल १० टिम सहभागी थिए । 

५. उक्त समापन समारोह कार्यक्रममा नेपाल फुटवल संघका पदाधिकारीहरु, अन्य सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाली सेनाका रथीबृन्द, सेनानी समुह लगायत संचारकर्मी तथा खेलाडीहरुको उपस्थिती रहेको थियो । 

६. ‘स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद’ भन्ने अवधारणालाई आत्मसाथ गर्दै नेपाली सेनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ । नेपाली सेना त्रिभुवन आर्मी क्लवमा विभिन्न विधाका खेलाडीहरुलाई प्रशिक्षण गराई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी गराउदै आईरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरमा महिला फुटबलको स्तर अभिबृद्धि तथा महिला खेलाडीहरुलाई समाबेशिकरण र समान अवसर प्रदान गर्ने उद्देश्यसहित नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल महिला संघको प्राविधिक सहयोगमा “प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७२” आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी महिला खेलाडीहरुले गरेको खेल प्रदर्शन र पेशागत दक्षता तथा खेलप्रतिको बिश्वासले यस प्रतियोगितालाई अझ बढी सार्थक बनाएको छ भने भविष्यमा समेत यसको निरन्तरताको लागि आवश्यक्ताबोध गराएको छ ।