पृतनापति समन्वयात्मक बैठक–२०७२ सम्पन्न

१. आज मिति २०७२ पौष १३ गते जंगी अड्डामा पि.एस्.ओज. रथीबृन्दहरु तथा पृतनापतिहरु सम्मिलित “पृतनापति समन्वयात्मक बैठक–२०७२” सम्पन्न भएको छ । उक्त अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम रावलले नेपाली सेनाले विगत देखि हालसम्म गरेका विपद ब्यवस्थापन लगायतका कार्यहरुको प्रशंसा गर्नुभएको थियो । देश संवेदनशील अवस्थामा रहेको बेलामा यस किसिमको समन्वयात्मक बैठक राखी विविध पक्षहरुको गहन छलफल गरेकोमा खुशी ब्यक्त गर्दै राष्ट्र र जनताको सर्वोत्तम हित र सुरक्षाको लागि उत्पन्न हुनसक्ने परिस्थितीको आंकलन गरी जस्तोसुकै चुनौतीको पनि सामना गर्नसक्ने गरी नेपाली सेनालाई आधुनीकीकरण गर्दै साधन र स्रोत सम्पन्न बनाई तयारी हालतमा रहन निर्देशन दिदै बैठकको सफलताको शुभकामना समेत दिनुभयो । 
 
२. उक्त समन्वयात्मक बैठकको समापन प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले गर्नु भएको थियो भने कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी श्री बलदेव राज महतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

३. कार्यक्रमको समापन मन्तव्य राख्नुहुँदै प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले अबका दिनहरुमा आन्तरिक तथा बाह्य खतराहरुलाई सम्बोधन गर्ने गरी राष्ट्रिय सुरक्षालाई एक व्यापक र फराकिलो बहुआयामिक अवधारणाको रुपमा लिई राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था श्रृजना भएको बताउनु भएको छ । सम्बोधनको क्रममा प्रधान सेनापति श्री क्षत्रीले विभागिय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलवा हाल देशमा विकसित परिस्थितिले श्रृजना भएको अपरेशनल चुनौती तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन समेत दिनु भएको छ । 

४. समन्वयात्मक बैठकको क्रममा सबै पृतनापतिहरुले आ–आप्mनो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै वर्तमान वस्तुस्थितिबाट उत्पन्न असहज परिस्थिति एवम् सुरक्षा चुनौतीहरुको सम्बन्धमा गम्भीर छलफल भएको थियो । उक्त समन्वयात्मक बैठकले नेपाली सेनाको लागि देश, जनता र संविधान प्रेरणादायी श्रोत भएको, देशको विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्ण रुपमा सचेत रहेको र उत्पन्न परिस्थिति एवम् नेपाल सरकारले तोकेको कुनैपनि जिम्मेवारी बहन गर्न सदैव तयार रहेको एवम् भूकम्पबाट क्षतीग्रस्त संरचनाको लागि अति प्रभावित जिल्लाहरुमा नेपाल सरकारले पूनः निर्माणको लागि जिम्मेवारी दिएमा यथासिघ्र कार्य गर्न तयार रहने  निष्कर्ष समेत निकालेको छ ।

५. उक्त कार्यक्रममा रक्षा सचिव श्री जयमुकुन्द खनाल, जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

६. यस किसिमको प्रत्येक बर्ष नियमित रुपमा गरिने समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट प्राप्त हुने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।