भारतीय स्थल सेनाध्यक्षको जोमसोम र पोखरा भ्रमण

१. नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष General Vijay Kumar Singh ले आज मिति २०६७ पौष ०६ गते जोमसोम र पोखराको भ्रमण गर्नु भएको छ । २. आज बिहान भारतीय स्थल सेनाध्यक्षले मुस्ताङ जिल्लाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नु भएको थियो । भ्रमणको क्रममा उक्त शिक्षालयका शिक्षाधिकृतले उहाँलाई शिक्षालयमा सञ्चालन हुने तालिमलगायतका विषयहरुबारे जानकारी गराउनु भएको थियो । भारतीय सेनालगायत अन्य विदेशी सेनाका सैनिकहरु नियमित रुपमा उक्त शिक्षालयमा सञ्चालन हुने उच्च शिखर (High Altitude and Mountain Warfare) तालिममा सरिक हुँदै आइरहेका छन् । ३. यसै गरी, आजै अपरान्ह भारतीय स्थल सेनाध्यक्षले पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नु भएको थियो । उहाँले भारतीय पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित पूर्व सैनिकहरुलाई सम्बोधन गर्नु भएको थियो । उहाँले युद्धमा घाईते भई शारीरिक रुपमा अशक्त पूर्व सैनिकहरुलाई बिशेष प्रकारको स्कुटर प्रदान गर्नु भएको थियो । यसै गरी, उहाँकी धर्मपत्नी श्रीमती भारती सिंहले वीरगती प्राप्त सैनिकका परिवारहरुलाई सिलाई मेशिन वितरण गर्नु भएको थियो । ४. भ्रमण समाप्त गरी भारतीय स्थल सेनाध्यक्ष आजै काठमाडौं फिर्ता हुनु भएको छ । आज साँझ उहाँको सम्मानमा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले जंगी अड्डामा आयोजना गर्नु हुने रात्रीभोजमा सरिक हुनु हुनेछ । ५. भोलि मिति २०६६ माघ ०७ गते उहाँले सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार नेपाल र माननीय रक्षामन्त्री श्रीमती विद्यादेवी भण्डारीलाई उहाँहरुकै कार्यकक्षमा भेटघाट गर्नु हुनेछ । भोलि साँझ राष्ट्रपति भवन, शीतलनिवासमा आयोजना गरिने एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवबाट उहाँलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।