युनिफिल मिशन लेवनानमा शहादत प्राप्त गरेका नेपाली शान्ति सैनिकलाई भावपूर्ण अन्तिम श्रद्वाञ्जली

१. विश्व शान्ति स्थापनार्थ युनिफिल मिशन, लेवनानमा श्री गोरखदल गण (शा.से.) ५७ औं डफ्फामा कार्यरत प्युठ भरतराज कार्कीको कर्तव्य पालनको सिलसिलामा मिति २०७२ पौष १७ गते असामयिक निधन भएको छ । शहादत प्राप्त प्युठ भरतराज कार्कीको पार्थिव शरीरलाई मिति २०७२/०९/२२ गतेको १९४० बजे Qatar Airlines को Flight No. 0650 बाट श्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौंमा ल्याई आज श्री वीरेन्द्र अस्पताल, छाउनीको प्राङ्गणमा सैनिक सम्मानका साथ अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । 

२. उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, सेनानी समूह, अन्य सैनिक जवान एवं सम्बन्धितका परिवारजनका साथै नेपालस्थित ग्ल् स्थायी नियोगका प्रतिनिधि र रक्षा मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो । 

३. नेपाली सेना विगत ६ दशकभन्दा अघिदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरुमा शान्ति सैनिकका रुपमा खट्टिई आफुलाई सुम्पिएको जिम्मेवारी कूशलतापूर्वक निर्वाह गर्दै आएको छ । एक सैनिक जवान राष्ट्रले दिएको कठिन भन्दा कठिनतम् आदेशलाई शीरोपर गर्दै मातृभूमि, आफ्ना परिवारजन तथा सहकर्मी मित्रहरुबाट टाढा रहंदै अपरिचित र कठिन भौगोलिक सुरक्षा परिस्थितिमा समेत विश्व शान्ति स्थापनार्थ तैनाथ हुनु आफैंमा गौरवको विषय हो । अझ, विश्व शान्ति र भात्तृत्वका लागि खट्टिदा खट्टिदै शहादत प्राप्त गर्नु आफैंमा विशिष्ट त्याग र बलिदान हो । शान्ति स्थापनाको पूण्य कार्यमा समर्पित सैनिक जवानको यस बलिदानले विश्व शान्तिप्रतिको नेपालको अटुट समर्पणलाई थप उजागर गरेको छ । हालसम्म शान्ति स्थापनार्थ तैनाथ ६२ जना शान्ति सैनिकहरुले शहादत प्राप्त गरिसकेका छन् ।

४. यस दुःखद घडीमा नेपाली सेना मृत आत्माको चीरशान्ति र शोकसन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि भगवानसँग प्रार्थना गर्दै समवेदना प्रकट गर्दछ ।