प्रधान सेनापति र संयुक्त राष्ट्र संघका उप महासचिव बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ पौष २४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग संयुक्त राष्ट्र संघका उप महासचिव Mr. Jeffrey Feltman ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२. उक्त भेटवार्ताका क्रममा उप महासचिव Mr. Jeffrey Feltman संग संयुक्त राष्ट्र संघको अनुरोधमा नेपाली सेनाले विश्व शान्तिको लागि पुर्‌याउँदै आएको बहु–आयामिक योगदानका विषयबस्तुहरु, आगामी दिनहरुमा गरिने सहयोग एवम् सहकार्यका क्षेत्रहरुलाई कसरी विस्तार गर्ने र नेपालमा शान्ति सुरक्षाको विद्यमान बस्तुस्थितिका सम्बन्धमा छलफल भएको थियो । त्यसैगरी वहांले द्वन्दग्रस्त मुलुकहरुमा परेको संकटको समयमा संयुक्त राष्ट्र संघलाई आवश्यक परेको फौज यथाशिघ्र खटाई विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाले खेलेको अग्रणी भूमिकाको लागि प्रशंसा सहित विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा उप महासचिव Mr. Feltman ले आम विनासकारी भूकम्प-२०७२ मा नेपाली  सेनाले गरेको सराहनिय कार्यको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भएको थियो ।

३. उक्त अवसरमा प्रधान सेनापति श्री क्षत्रीले संयुक्त राष्ट्र संघका तर्फबाट नेपाली सेनालाई विश्वास गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा स्थायीत्वको लागि संयुक्त राष्ट्र संघको छातामुनि रही निरन्तर समग्र मानव जातीको हितको लागि कार्य गर्ने अवसर उपलव्ध गराईराखेकोमा नेपाली सेनाको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो । साथै, नेपाली सेना संधै अराजनीतिक र पेशेवर रहि परिस्थितिलाई नजिकबाट विश्लेषण गर्दै नेपाली जनताको सेवामा आवश्यक तयारीमा रहेको समेत विश्वस्त गराउनु भएको थियो । 

४. यस किसिमको समय समयमा हुने उच्चस्तरिय भेटघाटले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न तथा नेपाली सेना र संयुक्त राष्ट्र संघ बीच रहँदै आएको द्विपक्षीय आपसी हितका विषयलाई प्रभावकारी रुपमा विस्तार गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।