सम्माननीय राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष General Vijay Kumar Singh लाई आज मिति २०६७ पौष ०७ गते राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहका वीच नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुभयो । उक्त समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिन्ह, टोपी, खड्ग तथा प्रमाण–पत्र प्रदान गर्नुभयो । २. सन् १९५० मा प्रथम पटक नेपालको औपचारिक भ्रमण गर्ने तत्कालीन भारतीय सेनाका Commander-in-Chief, General Kodandera Madappa Cariappa को भ्रमणदेखि नै भारतीय सेनाध्यक्षहरुलाई मानार्थ महारथीको दर्जाले सम्मानित गरिँदै आएको छ । ३. भ्रमणकै सिलसिलामा आजै अपरान्ह भारतीय स्थल सेनाध्यक्ष General Singh ले सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार नेपाल तथा माननीय रक्षामन्त्री श्रीमती बिद्यादेवी भण्डारीसँग उहाँहरुकै कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो । ४. त्यसैगरी, आजै बिहान वहाँले काभ्रेपलाञ्चोक जिल्लास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नुभयो । भ्रमणको क्रममा उक्त केन्द्रका केन्द्रपतिले उहाँलाई तालिम केन्द्रमा सञ्चालन हुने तालिमलगायतका विषयहरुबारे जानकारी गराउनु भएको थियो । ५. नेपालको चारदिने भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष तथा उहाँको भ्रमण दल भोलि मिति २०६७ पौष ०८ गते अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।