UNAMID Mission, सुडानमा शहादत प्राप्त गर्नु भएका प्राविधिक सहायक रथी डा. श्री भरत प्रसाद सिंहलाई भावपूर्ण अन्तिम श्रद्वाञ्जली अर्पण

१. संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNAMID Mission, सुडानमा फोर्स मेडिकल अफिसर्सको नियुक्तिमा कार्यरत नेपाली सेनाका प्राविधिक सहायक रथी डा. श्री भरत प्रसाद सिंहको खार्तुमको Baraha Medical City (Level III) मा बेड भर्ना भई उपचारको क्रममा मिति २०७२ माघ १० गते असामयिक निधन भएको छ । वहांको पार्थिव शरीरलाई मिति २०७२/१०/१७ गतेको १७०० बजे Ethiad Airways बाट श्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौंमा ल्याई आज मिति २०७२ माघ १८ गते छाउनीस्थित श्री वीरेन्द्र अस्पतालबाट पशुपति आर्यघाटमा लगि विधिपूर्वक सैनिक सम्मानका साथ अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । 

२. यसैक्रममा, कायम मुकायम प्रधान सेनापति रथी श्री वलदेव राज महतले वहांको पार्थिव शरिरमा माल्यार्पण गर्नुभई नेपाली सेनाको तर्पmबाट भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्नुभएको थियो । सोही अवसरमा नेपाली सेनाका अन्य रथीबृन्द, अधिकृत एवं अन्यदर्र्जाको साथै वहांका नाता कुटुम्ब तथा परिवारजनहरुले समेत पुष्पमाला अर्पण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको थियो । सोही क्रममा वहांको पार्थिव शरिरलाई नेपाली सेनाको एक टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो ।

३. नेपाली सेना विगत ६ दशकभन्दा अघिदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरुमा शान्ति सैनिकका रुपमा खट्टिई आफुलाई सुम्पिएको जिम्मेवारी कूशलतापूर्वक निर्वाह गर्दै आएको छ । एक सैनिक व्यक्ति राष्ट्रले दिएको कठिन भन्दा कठिनतम् आदेशलाई शीरोपर गर्दै मातृभूमि, आफ्ना परिवारजन तथा सहकर्मी मित्रहरुबाट टाढा रहंदै अपरिचित र कठिन भौगोलिक सुरक्षा परिस्थितिमा समेत विश्व शान्ति स्थापनार्थ तैनाथ हुनु आफैंमा गौरवको विषय हो । अझ, विश्व शान्ति र भात्तृत्वका लागि खट्टिदा खट्टिदै शहादत प्राप्त गर्नु आफैंमा विशिष्ट त्याग र बलिदान हो । शान्ति स्थापनाको पूण्य कार्यमा समर्पित सैनिक व्यक्तिको यस बलिदानले विश्व शान्तिप्रतिको नेपालको अटुट समर्पणलाई थप उजागर गरेको छ । हालसम्म शान्ति स्थापनार्थ तैनाथ ६३ जना शान्ति सैनिकहरुले शहादत प्राप्त गरिसकेका छन् ।

४. यस दुःखद घडीमा नेपाली सेना मृत आत्माको चीरशान्ति र शोकसन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि भगवानसँग प्रार्थना गर्दै समवेदना प्रकट गर्दछ ।