“प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” समापन

१. नागरिक-सैनिक सम्बन्ध सुदृढ बनाउंदै लैजान एवम् नेपाली सेनाको तर्फबाट खेलकुदको बिकासमा समेत थप टेवा पुर्याउने उद्धेश्य अनुरुप महाशिवरात्री तथा सेना दिवस-२०७२ को उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” को आज मिति २०७२ फागुन १४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा नेपाली सेनाको श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा एक विशेष समारोहकाबीच सम्पन्न भएको छ ।

२. मिति २०७२ फागुन ०९ गतेदेखि लगनखेलमा संचालन भईरहेको “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” अन्तरगत आज अपरान्ह त्रिभुवन आर्मी क्लबको “ए” टिम र नेपाल पुलिस क्लबको भलिबल टिमवीच भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबको “ए” टिमले नेपाल पुलिस क्लबको भलिबल टिमलाई २५-१९, २५-१३ र २५-२१ अन्तरले सोझो सेटमा पराजित गरी विजयी भएको छ । 

३. यसअघि, आज बिहान तेश्रो स्थानको लागि त्रिभुवन आर्मी क्लबको “बि” टिम र सशस्त्र प्रहरी क्लबको भलिबल टिमबीच भएको खेलमा त्रिभुवन आर्मी क्लबको “बि” टिमले सशस्त्र प्रहरी क्लबको भलिबल टिमलाई २४-२६, २६-२४, २५–२३ र २६–२४ अन्तरले पराजित गरी तेश्रो स्थान हांसिल गर्न सफल भएको छ । “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव “ए” र “बि” टिम लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई घरेलु विभागिय टिम तथा विगतका पांच विकाश क्षेत्रका पांच भलिबल टिमगरी जम्मा नौ टिमको सहभागिता रहेको थियो ।

४. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा लगनखेलमा आयोजित उक्त समापन समारोहमा प्रधान सेनापति श्री क्षत्रीले प्रतियोगितामा सर्बप्रथम हुने त्रिभुवन आर्मी क्लबको “ए” टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र नगद रु.३,००,००० (तीनलाख) को चेक प्रदान गर्नु भएको थियो । सोही अवसरमा उहाँले १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक हासिल गर्न महत्वपूर्ण भूमिका खेलेका नेपाली सेनासँग आवद्ध नेपाली फुटबल टिमका गोल रक्षक विकेश कुथुलाई समेत नगद पुरस्कार रु.५०,००० (पचास हजार) प्रदान गर्नुभई सम्मान गर्नु भएको थियो । 
 
५. उक्त समापन समारोहमा द्धितिय हुने नेपाल पुलिस क्लब भलिबल टिमलाई राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत श्री दिलिप राज रेग्मीले प्रमाण पत्र तथा मेडल प्रदान गर्नु भएको थियो भने नेपाल प्रहरीका महानिरिक्षक श्री उपेन्द्रकान्त अर्यालले नगद रु. १,५०,००० (एकलाख पचास हजार) को चेक प्रदान गर्नु भएको थियो । 

६. उक्त प्रतियोगितामा तृतीय हुने त्रिभुवन आर्मी क्लबको “बी” टिमलाई सशस्त्र प्रहरी बलका कायम मुकायम सशस्त्र प्रहरी महानिरिक्षक श्री दुर्ज कुमार राईले प्रमाण पत्र, मेडल र नगद रु. ७५,००० (पचहत्तर हजार) को चेक प्रदान गर्नुभएको थियो । 

७. पुरस्कार वितरणकै क्रममा बलाध्यक्ष रथी श्री पूर्ण चन्द्र थापाले खेलका विभिन्न विधामा उत्कृष्टहरुलाई पुरस्कृत गर्नु भएको थियो । जस अन्तर्गत उत्कृष्ट प्रशिक्षकमा नेपाली सेनाका प्रशिक्षक कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर नेपाली सेनाका गनर मान बहादुर श्रेष्ठ, उत्कृष्ट ब्लकर नेपाली सेनाका सिपाही भैरब बम, उत्कृष्ट डिफेन्डर नेपाली सेनाका हुद्धा ईश्वर थापा मगर र उत्कृष्ट लिफ्टर नेपाल प्रहरीका हुद्धा इम बहादुर राना मगरलाई जनही रु.१०,००० (दश हजार) नगद पुरस्कार प्रदान गरिएको थियो । 

८. त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी नेपाली सेनाका प्राविधिक अमल्दार धन बहादुर भट्टलाई गोल्छा अर्गनाईजेशनका कार्यकारी निर्देशक श्री शेखर गोल्छाले १५० सि.सि.को पल्सर मोटरसाईकल प्रदान गर्नु भएको थियो भने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्री जीवनलाल श्रेष्ठले प्रतियोगिता संचालनमा विशेष सहयोग पु¥याउनु हुने नेपाल भलिबल संघका अध्यक्ष श्री दान बहादुर तामाङ्ग, राष्ट्रिय भलिबल प्रशिक्षक श्री जगदीश प्रसाद भट्ट, नेपाल भलिबल संघका महा सचिव श्री जितेन्द्र बहादुर चन्द एवं नेपाली सेनाका महा सेनानी श्री मिनध्वज खड्कालाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । 

९. उक्त समापन समारोह कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, अखिल नेपाल भलिबल संघका पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्द, नेपाली सेनाका अधिकृतहरु, संचारकर्मी लगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

१०. “स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने अवधारणालाई आत्मसाथ गर्दै नेपाली सेनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद उत्थानको लागि सदैव लागि परेको छ । नेपाली सेना त्रिभुवन आर्मी क्लवमा विभिन्न बिधाका खेलाडीहरुलाई प्रशिक्षण गराई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी गराउदै आईरहेको सन्दर्भमा नागरिक(सैनिक सम्बन्ध सुदृढ बनाउंदै लैजान एवम् नेपाली सेनाको तर्पmबाट खेलकुदको बिकासमा समेत थप टेवा पुर्‍याउने उद्धेश्य अनुरुप महाशिवरात्री तथा सेना दिवस-२०७२ को उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” मा खेलाडीहरुले गरेको प्रदर्शन, पेशागत दक्षता तथा खेल प्रतिको बिश्वासले यस प्रतियोगितालाई अझ बढी सार्थक तथा भविष्यमा पनि निरन्तरताको आवश्यकता महसुश गराएको छ ।