भुकम्पीय जोखिम न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

१. “भूकम्प सुरक्षा दिवस–२०६७” को अवसरमा नेपाली सेनाद्वारा मिति २०६७ पौष २९ गते जंगी अड्डा परिसरमा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको “भूकम्पीय जोखिम न्यूनिकरणसम्बन्धी सचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न भयो । २. नेपाली सेनाका सकल दर्जाहरुलाई भूकम्पीय जोखिम र त्यसबाट हुन सक्ने क्षतिलाई न्यून गर्ने उपायहरुबारे जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा बोल्दै प्रधानसेनापति महारथी श्री गुरुङ्गले विपद्को घडीमा राष्ट्रवासीहरुको सेवामा नेपाली सेना सदैव अग्रपंक्तिमा रही कार्य गर्दै आइरहेको स्मरण गराउनु भयो । साथै आगामी दिनहरुमा समेत विपद्को दौरान नेपाली सेनाले निर्वाह गर्नुपर्ने भूमिकालाई दृष्टिगत गरी आ–आफ्नोतर्फबाट गर्नुपर्ने तयारी गर्न निर्देशन दिनु भयो । ३. कार्यक्रमको शुरुवातमा बलाधिकृत रथी श्री पवनजंग थापाले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै विपद् व्यवस्थापन सम्बन्धमा नेपाल सरकार तथा नेपाली सेनाले गर्दै आइरहेका पहलहरुको बारेमा जानकारी गराउनु भएको थियो । ४. सोही अवसरमा श्री राष्ट्रिय भूकम्प प्रविधि समाज नेपालका कार्यकारी निर्देशक श्री आमोदमणि दिक्षितले “भूकम्पीय जोखिम तथा त्यसबाट बँच्ने उपायहरु” सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी नेपाली सेनाका महासेनानी ईश्वर हमालले “विपद् व्यवस्थापन क्षेत्रमा नेपाली सेनाको भूमिका र काठमाण्डौं उपत्यकामा महाभूकम्प गएको खण्डमा सेनाले गर्नुपर्ने कार्यहरु” को सम्बन्धमा प्रकाश पार्नु भएको थियो । ५. कार्यक्रमको अन्त्यमा नेपाली सेनासँग हाल उपलब्ध उद्वार तथा राहत कार्यको लागि प्रयोग गरिने विभिन्न उद्वार सामग्री तथा नेपाली सेनाले गरेको उद्वार कार्यहरुको फोटो प्रदर्शनी गरिएको थियो । ६. कार्यक्रममा रक्षा सचिव, रथीवृन्द, गृह मन्त्रालय तथा अन्य निकायहरुका अधिकृत प्रतिनिधिहरुलगायत जंगी अड्डा तथा उपत्यका भित्रका पृतना, बाहिनी, निर्देशनालय, शिक्षालय, डिपो, गण तथा गुल्मका सकल दर्जाहरुको उपस्थिति रहेको थियो ।