“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६७” को समापन

१. गत मंसिर १९ गतेदेखि जंगी अड्डा परिसरमा अवस्थित खेल मैदानमा शुरु भएको “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६७” को आज मिति २०६७ माघ ०५ गते एक समारोहका बीच प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले समापन गर्नुभयो । २. प्रतियोगिता अन्तर्गत आज मद्दती फौज र पूर्वी पृतना बीच भएको प्रतिस्पर्धात्मक फुटबल फाइनल खेलमा मद्दती फौज शुन्यका बिरुद्ध तिन गोलले बिजयी भयो । खेलको मध्यान्तर अघि पहिलो गोेल मद्दती फौजका सिपाही राजकुमार बि.क. तथा दोस्रो गोल सिपाही ईश्वर आचार्यले गर्न सफल भएका थिए भने मध्यान्तर पछि सिपाही कुबेर के.सी.ले तेस्रो गोल गर्दै टिमलाई तिन शुन्यको अग्रता दिलाएका थिए । पूर्वी पृतनाले खेलमा राम्रो प्रदर्शन गरेता पनि गोल गर्नबाट धेरै पटक चुकेको थियो । ३. प्रधानसेनापतिबाट विजयी टिमलाई फुटबलको रनिङ्ग शिल्ड प्रदान गर्नुका साथै प्रथम, द्वितिय तथा तृतिय हुने टिमका खेलाडी, प्रशिक्षक तथा खेल सञ्चालकहरुलाई मेडल तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । त्यसैगरी, प्रधानसेनापतिबाट फुटबल खेलमा प्रथम हुने मद्दती फौजलाई नगद पुरस्कार रु.२५ हजार, द्वितीय हुने पूर्वी पृतनालाई रु.१५ हजार तथा तृतिय हुने पश्चिम पृतनालार्ई रु.१० हजार प्रदान गर्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएका मद्दती फौजका सिपाही राजकुमार बि.क.लाई नगद पुरस्कार समेत प्रदान गर्नुभयो । ५. समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, रक्षा मन्त्रालयका पदाधिकारी, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु, विदेशी सैनिक सहचारीहरु तथा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । ६. “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६७” मा समावेश गरिएका सम्पूर्ण खेलहरुमा उत्कृष्ट अङ्क ल्याई प्रथम हुने टिमलाई “सेना दिवस २०६७” को अवसरमा प्रधानसेनापतिबाट “प्रधानसेनापति ट्रफि २०६७” प्रदान गरिने कार्यक्रम रहेको छ ।