“महाशिवरात्रि तथा सेना दिवस २०६७” भव्यताका साथ सम्पन्न

१. “ महाशिवरात्रि तथा सेना दिवस २०६७” को पावन अवसरमा आज मिति २०६७ फाल्गुन १८ गते बिहान विविध रोचक कार्यक्रमहरुको आयोजना गरी भव्यताका साथ सु–सम्पन्न भयो । २. नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको प्रमुख आतिथ्यमा सु–सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रपतिज्यूबाट श्री कृष्णदल गण र श्री सिद्धिबक्स गणलाई निशान प्रदान गर्नुभयो । निशान प्रदानको कार्यक्रम पश्चात श्री सैनिक हवाई महानिर्देशनालयद्धारा हेलिकोप्टरबाट व्यानर प्रदर्शन, निशान प्राप्त गर्ने गणहरुबाट ईज्जत अर्पण कवाज प्रदर्शन, विभिन्न गण तथा गुल्महरु, महिला सैनिक, संयुक्त राष्ट्रसंघमा शान्ति स्थापनार्थ सहभागी हुने फौज, राष्ट्रिय सेवादल, त्रिभुवन आर्मी क्लबका खेलाडीहरु तथा नेपाल क्याभलरी ट्रुप्स (बग्गी/घोडा) बाट मार्चपास प्रस्तुत गरिएको थियो । ३. मार्चपासको प्रस्तुतीकरण पश्चात सवारी साधनहरुबाट विशेष फौजको प्रदर्शन, फेरेटकार, ए.पि.सि., एम.पि.भि. तथा विभिन्न हतियारहरुको प्रदर्शन, इन्जिनीयरिङ्ग, सिग्नल तथा विकास निर्माणसम्बन्धी उपकरणहरुको प्रदर्शन, राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु आरक्ष र वातावरण संरक्षण सम्बन्धी प्रदर्शन एवं अन्य विभिन्न सवारी साधनहरुको प्रदर्शन गरिएको थियो । त्यसपछि राईफल तथा तोपबाट बढाईँ गरी महाशिवरात्रि बढाईँ सम्पन्न भयो । उक्त बढार्इँको कार्यक्रम पश्चात जिम्नास्टिक, ते–क्वाण्दो, सुट टु किल र खुकुरी ड्रिल प्रदर्शन, रेड र रेस्क्युको कारवाही, डग शो, फ्रि–फल जम्प, पाहुना खेल, सैनिक व्याण्डद्वारा सांगीतिक कार्यक्रम र अन्त्यमा हवाई फर्मेशनको प्रदर्शन गरिएको थियो । ४. कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिबाट नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही” बार्षिक पत्रिकाको विमोचन गर्नुका साथै विदेशी पाहुनाहरुको खेलमा प्रथम हुनुहुने अमेरिकी सैनिक सहचारी Lieutenant Colonel Gregory S.Winston को जोडी र स्वदेशी पाहुनाहरुको खेलमा प्रथम हुनुहुने अवकाश प्राप्त सहायक रथी श्री चिनिया बहादुर बस्नेत एवं फ्रि–फल जम्पतर्फ प्रथम हुने सुवेदार गंगा प्रसाद भट्ट र द्धितिय हुने हुद्दा राजु ढकाललाई पुरस्कार समेत प्रदान गर्नुभयो । ५. सोही अवसरमा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले मानार्थ उप–सेनानीमा पदोन्नति हुनु भएका ३४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । ६. कार्यक्रममा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुखहरु, माननीय मन्त्रीहरु, नेपाली सेनाका अवकाश प्राप्त बरिष्ठ पदाधिकारीहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मी, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत ठूलो उपस्थिति रहेको थियो । ७. “सेना दिवस २०६७” को पावन अवसरमा सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री तथा श्री प्रधानसेनापतिले दिनु भएको शुभकामना सन्देशहरु यसै विज्ञप्तीसाथ संलग्न गरिएको छ ।
“सेना दिवस २०६७” को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको सन्देश
सर्वप्रथम देश र देशवासीका लागि प्राण उत्सर्ग गर्ने वीर सैनिकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै सेना दिवस, २०६७ को शुभअवसरमा नेपाली सेना परिवारमा हार्दिक शुभकामना र वधाई दिन चाहन्छु । आफ्नो कर्तव्यपालनाको क्रममा नेपाली सेनाले प्रदर्शन गरेको बहादुरी, उच्च अनुशासन, इमान्दारिता एवं अविचलित देशभक्ति साँच्चै नै प्रशंसनीय रहेको मैले महसुस गरेको छु । देशको आन्तरिक सुरक्षा, प्राकृतिक सम्पदाको संरक्षण, महत्वपूर्ण संरचना तथा व्यक्तित्वहरुको सुरक्षा, विकास निर्माणका कार्य, प्रकोप व्यवस्थापनका साथै राज्य तथा सरकारले सुम्पेका जिम्मेवारीहरुलाई निष्ठापूर्वक सम्पन्न गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनाका लागि पनि विश्वमा नेपाली सेनाले गौरवमय पहिचान बनाउन सफल भएको कुरा व्यक्त गर्न पाउँदा मलाई खुशी लागेको छ । सेना दिवसको यस अवसरमा कर्तव्यपथमा अडिग रही आफ्नो गौरवमय परम्परालाई सम्मानपूर्ण स्थानमा राखिराख्न नेपाली सेना सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै बहालवाला तथा सेवानिवृत्त सबै सैनिक परिवारमा सुख, शान्ति र प्रगतिको कामना गर्दछु । धन्यवाद । सबै नेपालीको जय होस् ।
“सेना दिवस २०६७” को अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूको सन्देश
सेना दिवस–२०६७ को सुखद् अवसरमा नेपाली सेनाका प्रधानसेनापति लगायत सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । इतिहासकालदेखि नै नेपाली सेना मुलुकको स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण तथा सम्वर्द्धन गर्ने कार्यमा कटिबद्ध रहनुका साथै आफ्नो वीरता, पौरख र बलिदानबाट नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायसामुसमेत आफ्नो विशिष्ट पहिचान निर्माण गरेको तथ्य सर्वविदितै छ । नेपाली सेनाले मुलुकको चौतर्फी निर्माणका कार्य, प्रकोप नियन्त्रण र उद्धारका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु । मुलुकको राष्ट्रिय सेनाको रुपमा स्थापित नेपाली सेनाले संयुक्त राष्ट्र संघको छातामुनि विश्वका विभिन्न संकटग्रस्त मुलुकहरुमा गई शान्ति स्थापना गर्ने कार्य देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत प्रशंसनीय छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा नेपाली सेनाले प्राप्त गरेको प्रशंसा र उपलब्धिको जगेर्ना गर्दै नेपाली सेनाको गौरव, प्रतिष्ठा र गरिमा अभिबृद्धि गर्ने कार्यमा थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । साथै यस अवसरमा मुलुक र जनताका लागि आफ्नो प्राणको आहुति दिने वीर सैनिक सपुतहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै वहाँहरुको परिवारमा उच्च सम्मान प्रकट गर्दछु । धन्यवाद ।
सेना दिवस २०६७ को उपलक्ष्यमा नेपाली सेनाका सकल दर्जाहरुलाई प्रधान सेनापतिको सन्देश
१. “सेना दिवस २०६७” को सुखद अवसरमा राष्ट्र र जनता प्रति सदाझै समर्पित भई रहन प्रेरणा मिलोस् भनी सकल सेना, तिनका परिवार, नेपाली सेना अन्तर्गत रहेका निजामति कर्मचारी, वहाँहरुका परिवार सबैको सुख, शान्ति, समृद्वि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु । त्यस्तै राष्ट्रिय स्वाधिनता तथा अखण्डताको रक्षा र नेपाली जनताको शान्ति तथा आधारभूत हकहितको संरक्षणका दौरान इतिहासकालदेखि वर्तमानसम्म कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका सकल दर्जाको आत्माको चीर शान्तिको कामनाका साथै अङ्गभङ्ग भई पुर्नस्थापनाको क्रममा रहेका सम्पूर्ण घाइते विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । २. गौरवमय इतिहास बोकेको, आफ्नो प्रमुख दायित्व प्रति सदैव समर्पित, नेपाली सेनाले मुलुकको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता तथा राष्ट्र एवं राष्ट्रवासीको आधारभूत हितको रक्षा गर्दै आएको छ । नेपाली सेनाले विश्वका सबै पेशेवर सेनाहरु सरह निश्चित सैनिक मूल्य र मान्यता (Norms and Values) लाई अक्षुण्ण राख्दै संविधान प्रदत्त राष्ट्रिय सुरक्षा सम्बन्धी जिम्मेवारी लगायत पर्यावरण संरक्षण एवं प्रवर्द्धन, राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्य, विकास निर्माणमा सहभागिता, मानव सिर्जित एवं प्राकृतिक विपद व्यवस्थापन तथा नेपाल सरकारद्वारा विधिवत रुपमा प्रदान गरिएका जिम्मेवारीहरुलाई सशक्त एवं प्रभावकारी ढङ्गले निर्वाह गरी राष्ट्रको मान, इज्जत र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन सफल भएको छ । यस्तो अद्वितीय इतिहास बोकेको संगठनले आगामी दिनहरुमा समेत सदा झै राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता तथा राष्ट्रवासीको कल्याणको लागि संस्थागतरुपमा समर्पित रहने कुरामा सबैलाई विश्वस्त तुल्याउन चाहन्छु । ३. साथै यस अवसरमा नेपाली सेनालाई सुम्पिएका जिम्मेवारीहरु सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग पु-याउनु हुने आम नागरिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सम्पूर्ण शुभचिन्तक, संघसंस्था तथा महानुभावहरुप्रति हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।