माननीय रक्षा मन्त्री र माननीय स्वास्थ्य मन्त्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ पौष २१ गते माननीय रक्षा मन्त्री श्री बालकृष्ण खाण र माननीय स्वास्थ्य मन्त्री श्री गगन कुमार थापाद्वारा नेपाली सेनाको छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नुभएको छ । सोही अवसरमा माननीय रक्षा मन्त्री श्री बालकृष्ण खाणद्वारा भण्डारखालस्थित श्री नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको समेत निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. स्थलगत निरीक्षणको क्रममा वँहाहरुले वीरेन्द्र अस्पताल तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको बस्तुस्थितिबारे जानकारी हाँसिल गर्नुभएको थियो ।

३. यसअघि सैनिक स्वास्थ्य महानिर्देशक उपरथी डा.श्री किशोर जंग राणाले नेपाली सेनाले स्वास्थ्य सेवा सम्बन्धी गरिरहेको कार्यहरु तथा योगदानको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राध्यापक उपरथी डा.श्री बच्चुराम के.सी. (अ.प्रा.) ले स्वास्थ्य शिक्षा क्षेत्रमा नेपाली सेनाले गरिरहेको कार्यहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

४. यस प्रकारको उच्चस्तरीय भ्रमणबाट नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यमा प्रोत्साहन मिल्न गई हौसलाको साथ कार्य गर्न थप ऊर्जा मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

५. उक्त भ्रमण दलमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव श्री श्रीधर सापकोटा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत सहभागिता रहेको  थियो ।