मित्रराष्ट्र जनवादी गणतन्त्र चिनियाँ सेनाका General औपचारिक भ्रमणमा नेपाल आउनु हुँदै

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र जनवादी गणतन्त्र चिनियाँ सेनाका General Chen Bingde, Member of the Central Military Commission, the People's Republic of China and the Chief of General Staff, People's Liberation Army मिति २०६७ चैत्र ०९ गतेदेखि मिति २०६७ चैत्र ११ गते (तदनुसार २३ देखि २५ मार्च २०११) सम्म गर्नुहुने नेपालको औपचारिक भ्रमणको लागि मिति २०६७ चैत्र ०९ गते नेपाल आउँदै हुनुहुन्छ । २. भ्रमणको क्रममा चिनियाँ सेनाका General Chen Bingde निम्न कार्यक्रमहरुमा सरिक हुनु हुनेछः (क) General Chen Bingde लाई मिति २०६७ चैत्र ०९ गते अपरान्ह श्री त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले स्वागत गर्नु हुनेछ । उहाँको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत प्रदान गर्नेछ । त्यसपछि उहाँले टुँडिखेलको सैनिक मञ्चस्थित “वीर स्मारिका” मा माल्यार्पण (Wreath Laying) गर्नु हुनेछ । त्यसपश्चात जङ्गी अड्डामा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गसँग शिष्टाचार भेटघाट गर्नु हुनेछ । सोही अवसरमा नेपाली सेनाको तर्फबाट नेपाली सेनाले निर्वाह गर्दै आएको भुमिकाबारे बृफिङ हुनुका साथै द्धिपक्षिय सहयोग अभिवृद्धि लगायतका विषयहरुमा छलफल तथा हस्ताक्षर कार्यक्रम हुनेछ । (ख) मिति २०६७ चैत्र १० गते अपरान्ह शीतल निवासस्थित राष्ट्रपति भवनमा सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवसँग शिष्टाचार भेटघाट गर्नु हुनेछ । त्यसभन्दा अगाडी उहाँले सम्माननीय प्रधानमन्त्री र माननीय रक्षामन्त्रीसँग उहाँहरुकै कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नु हुनेछ । सोहि दिन साँझ प्रधान सेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले उहाँको सम्मानमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा रात्री भोजको आयोजना गर्नुहुनेछ । ३. तीन दिने नेपाल भ्रमण समाप्त गरी मित्रराष्ट्र जनवादी गणतन्त्र चिनियाँ सेनाका General Chen Bingde र उहाँको भ्रमण दल मिति २०६७ चैत्र ११ गते अपरान्ह स्वेदश फिर्ता हुनेछ ।