प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री नमुना बस्तिको पुनर्निर्माण निरीक्षण कार्यक्रममा सरिक

१. आज मिति २०७३ माघ १५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री भूकम्पबाट क्षतीग्रस्त भएको गोरखा जिल्लाको लाप्राकमा गैर आवासिय नेपाली सङ्घको मुख्य संयोजकत्वमा पुनर्निर्माण गर्न लागिएको नमुना वस्तीको निरीक्षण कार्यक्रममा सरिक हुनु भएको छ ।

२. कार्यक्रमकै बीच प्रधान सेनापति श्री क्षत्रीले नमुना वस्तीको पुनर्निर्माणमा नेपाली सेनाले आफ्नो दक्ष जनशक्ति उपलव्ध गराई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । प्रधान सेनापति श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।

३. उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेल, गैर आवासिय नेपाली सङ्घका अध्यक्ष शेष घले, नेपाली सेनाका रथीवृन्द, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण कार्यालयका पदाधिकारी लगायत नेपाली सेनाका अधिकृत तथा स्थानिय जनताहरुको समेत उपस्थिति रहेको थियो ।

४. नेपाली सेना पुनर्निर्माण जस्तो पुनित कार्यमा सदा सर्वदा प्रतिबद्ध भई हर प्रकारको सहयोग गर्न तत्पर रहेको विश्वास दिलाउन चाहन्छ ।