माननीय रक्षामन्त्रीद्वारा सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजको निरीक्षण

१. आज मिति २०७३ माघ २७ गते माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँडले नेपाली सेनाको श्री राष्ट्रिय सेवा दलद्वारा नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री नं.२ वन तथा पर्यावरण गणको हाताभित्र सञ्चालन भईरहेको १२ औं ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजको निरीक्षण तथा सलामी ग्रहण गर्नुभएको छ ।

२. उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै माननीय रक्षामन्त्री श्री खाँडले नेपाल सरकारको युवा शसक्तिकरणको राष्ट्रिय कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुनु भएका सम्पूर्ण छात्र÷छात्राहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुको साथै, उनीहरुद्वारा प्रदर्शन गरिएको कवाजको समेत प्रशंसा गर्नु  भयो । सम्बोधन कै क्रममा वहाँले समस्त युवावर्गलाई राष्ट्र विकास र देश भक्तिको पाठ सिकाउने तथा विपद्को समयमा उद्दार एवं सामाजिक सेवामा समर्पित युवा तयार गर्ने अभिप्रायले सञ्चालित यस किसिमको फलदायी तालिम उत्कृष्ट रुपमा सञ्चालन गर्दै आएकोमा नेपाली सेना र त्यस कार्यमा संलग्न हुने सबैलाई धन्यवाद दिनु साथै राष्ट्रिय सेवादललाई देशव्यापी रुपमा विकास गर्न तथा युवाहरुका लागि फलदायी तालिमका रुपमा विकास गर्दै लैजाने मार्गलाई फराकिलो पर्न रक्षा मन्त्रालयको तर्फबाट खेल्नु पर्ने सकारात्मक भूमिकाको लागि समेत प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

३. सो निरीक्षण कार्यक्रमको लागि मिति २०७३ माघ २६ गते त्यस तर्फ प्रस्थान गर्नु भएका माननीय रक्षामन्त्री श्री खाँड तथा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले १२ औं ब्याच सिनियर डिभिजन तालिमका शिक्षार्थी छात्र÷छात्राहरुद्वारा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमको समेत अवलोकन गर्नु भएको थियो ।

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, स्थानीय प्रशासनका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक वर्ग, सञ्चारकर्मीहरु, समाजसेवी, नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जा एवं अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।

५. दीक्षान्त समारोहको कार्यक्रम पश्चात माननीय रक्षामन्त्री श्री खाँड तथा प्रधान सेनापति श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनुभएको छ ।