प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मैत्री सेवा आश्रममा नवनिर्मित दश कुटीहरुको समुद्घाटन

१. आज मिति २०७३ फागुन ०४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले काठमाण्डौ जिल्ला शङ्खरापुर नगरपालिका वडा नं.४ लप्सेफेदीस्थित मैत्री सेवाश्रम (ज्येष्ठ नागरिक ग्राम) मा नवनिर्मित दश कुटीहरुको एक कार्यक्रमकाबीच समुद्घाटन गर्नुभएको छ ।

२. उक्त दश कुटीहरु नेपाली सेनाको श्री सैनिक कल्याणकारी कोषको लगानी तथा जे.पी. प्रतिष्ठानको संयोजकत्वमा सैनिक सेवाबाट अवकास प्राप्त अधिकृत, पदिक तथा अन्य दर्जाको लागि निर्माण गरिएको हो । नवनिर्मित दश कुुटीहरु मध्ये अति विशिष्ट कुटी २ वटा, विशिष्ट कुटी ३ वटा र सामान्य कुटी ५ वटा रहेका छन् ।

३. कार्यक्रमको दौरान उक्त प्रतिष्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली सेनाको सहकार्यमा यस किसिमका परोपकारी कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुहुँदै गौरवान्वित महसुश भएको विचार व्यक्त गर्नुभएको थियो ।

४. मन्तव्यकै क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त प्रतिष्ठानको स्वास्थ्य एवं सभ्य, सु—संस्कृत तथा मर्यादित मानवीय समाज निर्माण गर्ने सुन्दर परिकल्पना ज्यादै नै सह्रानीय रहेको विचार व्यक्त गर्नुभएको थियो । त्यसैगरी, वँहाले आश्रमले प्रदान गर्ने सेवा, मर्यादित र मानवीय समाज निर्माणमा कोशे ढुङ्गा साबित हुने बताउनु भयो । साथै अहोरात्र राष्ट्र सेवकको रुपमा खट्टिई सेवा निवृत्त सैनिक व्यक्तिहरु पनि हिताधिकारी बन्ने हुँदा सो सेवा आश्रम र नेपाली सेनाबीचको सम्बन्ध आगामी दिनहरुमा झन् प्रगाढ हुन जाने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

५. उक्त समुद्घाटन कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्द, अधिकृत, स्थानीय भद्रभलाद्मी, नेपाली सेना कल्याणकारी बोर्डका पदाधिकारीलगायत सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।