विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

१. आज मिति २०७३ फागुन ०६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको २० औं बार्षिकोत्सव एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

२. उक्त कार्यक्रममा महाबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सोही अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त महाबिद्यालयमा १५ वर्ष भन्दा बढी कार्य गर्ने शिक्षकवर्ग एवं कर्मचारीहरुलाई कदर पत्र वितरण गर्नु भएको थियो भने जेहेन्दार विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्रसमेत प्रदान गर्नु भएको थियो । कार्यक्रमकै क्रममा वंहाले उक्त विद्यालयको मुखपत्र ‘आशाकिरण’ स्मारिकाको छैठौं अंकको विमोचन गर्नुभएको थियो ।

३. नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिकका छोरीहरुलाई साक्षर बनाउने उद्देश्य अनुरुप एल.के.जि. देखि कक्षा ३ सम्म पठनपाठन गराउने गरी वि.सं.२०५४ साल कात्तिक २३ गते काठमाण्डौ महानगरपालिका विजेस्वरी १५, स्वयम्भूमा ‘विजेश्वरी ज्ञान मन्दिर प्राथमिक विद्यालय’ सैनिक श्रीमती सङ्घद्वारा स्थापना भएको हो । आ.व.०६३÷६४ देखि सम्पूर्ण आर्थिकभार श्री कल्याणकारी योजना निर्देशनालयले बहन गर्ने र संरक्षकको भूमिका उक्त सङ्घले नै निर्वाह गर्दै ‘विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय’ सञ्चालनरत छ । हाल उक्त महाविद्यालयमा कक्षा १ देखि १२ सम्म २४ वटा कक्षाहरुमा जम्मा ८६२ जना विद्यार्थीहरु अध्ययनरत छन् । सो महाविद्यालयमा उच्च माध्यमिक तह १०ं२ तर्फ वाणिज्य सङ्काय अन्तर्गत व्यवस्थापन विषय अध्यापन गराइँदै आएको छ ।

४.उक्त वार्षिकोत्सव कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, सैनिक श्रीमती सङ्घका अध्यक्ष तथा पदाधिकारीहरु, सैनिक स्कूलका प्रिन्सिपलहरु, शिक्षक÷शिक्षिका एवं नेपाली सेनाका अधिकृतहरु लगायत बिद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।

५. नेपाली सेनाको कल्याणकारी कोषसँग रहेको सीमित श्रोत र साधनलाई परिचालन गरी नेपाली सेनाले विद्यालय तथा महाविद्यालयहरु सञ्चालन गर्दै सैनिक एवं गैह्र सैनिकका सन्ततीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेबाट देशको समग्र शिक्षा क्षेत्रमा योगदान पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।