‘१० औं प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७३’ सम्पन्न

१. श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुरले उक्त महाविद्यालयको खेल मैदानमा आयोजना गरेको ‘१० औं प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७३’ को आज मिति २०७३ फागुन १८ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।

२. मिति २०७३ माघ २८ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा जम्मा १६ वटा माध्यमिक विद्यालयहरुका क्रिकेट टिमहरुको सहभागिता रहेको थियो । आज सैनिक आवासीय महाविद्यालय, भक्तपुरको क्रिकेट टिम ‘ए’ र डि.ए.भि.उच्च माध्यमिक विद्यालयको क्रिकेट टीमबीच भएको फाईनल खेलमा सैनिक आवासीय महाविद्यालय, भक्तपुरले डि.ए.भि.उच्च मा.वि.लाई ४ विकेटले पराजित गरी प्रथम हुन सफल भएको छ । सो प्रतियोगिताको म्यान अफ दि सिरिज सैनिक आवासीय महाविद्यालय, भक्तपुरका दिपक न्यौपाने हुन सफल भएका छन् ।  

३. उक्त समापन समारोहमा प्रधान सेनापति श्री क्षत्रीले प्रतियोगितामा सर्बप्रथम हुने सैनिक आवासीय महाविद्यालय, भक्तपुरको क्रिकेट टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र नगद रु.२५,०००।– (पच्चिस हजार) प्रदान गर्नुको साथै दोश्रो हुन सफल भएको डि.ए.भि. उच्च मा.वि.को क्रिकेट टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र नगद रु. १५,०००।– (पन्ध्र हजार) प्रदान गर्नु भएको थियो ।

४. उक्त समापन समारोह कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत लगायत सञ्चारकर्मी र अविभावकहरुको उपस्थिती रहेको थियो ।

५. यस प्रकारको प्रतियोगिताबाट विद्यार्थीहरुमा अध्ययनको अलावा खेल प्रति अभिरुचि बढ्न गई भविश्यमा दक्ष खेलाडीहरु उत्पादन गर्न सहयोग मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।