उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन

१. नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको दोस्रो उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम (2nd Advanced Training on National Security) को माननीय रक्षामन्त्री श्री बालकृष्ण खाणले आज मिति २०७३ फागुन २७ गते शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा एक समारोहबीच समापन गर्नुभएको छ ।

२. उक्त कार्यक्रमको शुभारम्भमा सो कलेजका शिक्षाध्यक्षले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने माननीय रक्षामन्त्री श्री खाणले आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै सफलतापूर्वक तालिम समापन गर्नु भएका सम्पूर्णलाई बधाई दिनुभएको थियो । सोही क्रममा वँहाले तालिमबाट सिकेको ज्ञानले आगामी दिनहरुमा कार्यकुशलता र कार्य सम्पादन क्षमतामा थप अभिवृद्धि हुन गई राष्ट्र र जनताप्रतिको सेवा प्रवाहमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रमकै दौरान वहाँले तालिमका सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।

३. मिति २०७३ फागुन १७ गतेबाट ऐ.२७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु तथा नेपाली सेना लगायत अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा १८ जना तालिमरत रहेका थिए ।

४. उक्त समापन समारोहमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव श्री श्रीधर सापकोटा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीबृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।