प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको शुभारम्भ

१. आज मिति २०७३ चैत्र ०३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले  नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने सि.सं.४ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट (Higher Command and Management Course-HCMC) तालिमको एक बिशेष समारोहका बीच शुभारम्भ गर्नु भएको छ । उक्त तालिममा २५ जना महा सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ ।

२. कार्यक्रम शुभारम्भमा प्रधान सेनापति महारथी श्री क्षत्रीले तालिमका सहभागीहरुलाई सम्बोधन गर्नु हुँदै यस किसिमको व्यवसायिक सैनिक तालिमबाट परिस्थितिको मुल्यांकन गरी जटिल अपरेशनल वातावरणमा समेत प्रभावकारी निर्णय हासिल गर्न सक्षम हुने बताउनु भयो । त्यसैगरि, वहाँले जटिल सुरक्षा वातावरणलाई ख्याल गर्दै विशिष्ट भू–राजनीति, अन्तर्राष्ट्रिय आतंकवाद तथा अन्य तत्वहरुले पार्न सक्ने सुरक्षा चूनौतिको महत्वपूर्ण विश्लेषणका लागि उच्च स्तरको परिस्थितिजन्य मूल्याङ्कन क्षमता र पेशागत चुस्तताको साथमा उच्च सैनिक संस्कार र मान्यताको थप विकासको निमित्त यस किसिमको तालिम फलदायी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

३. उक्त समारोहमा प्रधान सेनापति श्री क्षत्रीले सो तालिमको प्रथम प्रवचनमा पाल्नु भएका सम्पुर्ण उपस्थित महानुभावहरुप्रति आभार व्यक्त गर्नुहुंदै उक्त तालिम संचालनमा योगदान पुर्या‌उने सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय लगायत तालिमसँग सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । यस अघि सो तालिमका प्रमुख शिक्षक उपरथी श्री प्रभुराम शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

४. उक्त कार्यक्रममा रक्षा सचिव श्री श्रीधर सापकोटा, बहालवाला तथा पूर्व रथीबृन्दहरु, सैनिक शिक्षालयका पूर्व कमाण्डाण्टहरु, सेनानी समुह लगायत प्राज्ञिक व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।