‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर २०७३’ सम्पन्न

१. मिति २०७३ चैत ०८ गतेबाट नेपाल सरकार, श्री स्वास्थ्य मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा रौतहट जिल्लाको गौरमा नेपाली सेनाको मोबाईल अस्पताल प्रयोग गरी सञ्चालन भईरहेको साताव्यापी ‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर २०७३’ को एक विशेष कार्यक्रमका बीच आज मिति २०७३ चैत १४ गते सम्पन्न भएको छ ।

२. संयुक्त रुपमा आयोजना गरिएको उक्त शिविर सुलभ स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा, पिछडिएका विपन्नवर्ग र विशेष गरी महिला वर्गलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको थियो । साताव्यापी लामो शिविरमा महिला ३०५७ तथा पुरुष ३३९० गरि जम्मा ६४४७ जनाको स्वास्थ्य उपचार गरिएको थियो । सो अन्तर्गत पाठेघर खस्ने, पित्त थैलीको पत्थरी, हाईड्रोसिल, हर्निया, Bladder Stone, Laparotomy र Appendicitis गरी जम्मा १३७ जनाको शल्यक्रिया समेत गरिएको थियो ।

३. उक्त स्वास्थ्य शिविर सञ्चालनमा स्वास्थ्य मन्त्रालयबाट १८ जना चिकित्सक र २० जना परिचारिका गरी जम्मा ३८ जना र नेपाली सेनाको मोबाईल अस्पताल सहित सैनिक चिकित्सक, परिचारिका तथा अन्य प्राविधिक गरी १०५ जना खट्टिएका थिए ।

४. यस किसिमको कार्यबाट गैह्र सैनिक व्यक्तिहरुलाई स्वास्थ्य सेवामा थप मद्दत पुग्न जानुको साथै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खडा हुन गई नागरिक—सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ । गैह्र सैनिक व्यक्तिहरुलाई यस प्रकारको सेवा प्रदान गर्न पाएकोमा नेपाली सेना गौरव महसुस गर्दछ ।