भारतीय सेनाध्यक्ष नेपालको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bipin Rawat, UYSM, AVSM, YSM, SM, VSM, ADC चारदिने औपचारिक भ्रमण सम्पन्न गरि आज मिति २०७३ चैत १८ गते स्वदेश फिर्ता हुनु भएको छ । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले विदाई गर्नु भएको थियो ।

२. मिति २०७३ चैत्र १६ गते राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिएको एक विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिज्यूबाट भारतीय स्थल सेनाध्यक्ष General Bipin Rawat लाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट शुसोभित गरिएको थियो ।  भ्रमण कै क्रममा भारतीय स्थल सेनाध्यक्ष General Bipin Rawat ले सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री तथा प्रधान सेनापति श्री राजेन्द्र क्षत्रीसंग छुटाछटै शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।

३. नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप विगत दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीकोे दर्जा प्रदान गर्ने परम्परा रहेको छ । उक्त मानार्थ महारथी दर्जा ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष General Bipin Rawat नेपाल आउनु भएको थियो । यस भ्रमणले दुई देश बीच रहंदै आएको सौहाद्र्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत  पुर्‍याएको विश्वास नेपाली सेनाले लिएको छ ।