शान्ति स्थापनार्थ हाईटीमा खट्टि जाने फौजको निरीक्षण

१. आज मिति २०६७ चैत्र १४ गते कायम मुकायम प्रधानसेनापति रथी श्री तोरण जंग बहादुर सिंहले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Stabilization Mission in Haiti (MINUSTAH) मा तैनाथ हुन जाने श्री चण्डिप्रसाद गण(शान्ति सेना) १३ औँ डफ्फा तथा श्री नन्दाबक्स गण (शान्ति सेना) नवौं डफ्फाद्वारा संयुक्त रुपमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरिएको Pre-Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा का.मु प्रधानसेनापति रथी श्री सिंहले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । सोही अवसरमा उहाँले शान्ति सैनिकहरुलाई सम्बोधन गर्नुहुंदै संयुक्त राष्ट्र संघको आव्हानमा नेपाली सेनाले लामो समयदेखि शान्ति स्थापना कार्यमा भाग लिदै अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको छविलाई उच्च राख्दै आएको जानकारी गराउनु भयो । सम्बोधनको क्रममा उहाँले संयुक्त राष्ट्र संघ र नेपाली सेनाले दिएको जिम्मेवारी तथा निर्देशनलाई पूर्ण पालना गर्न एवं निःस्वार्थ भावनाले अनुशासित र कर्तव्यनिष्ठ भई कार्य गर्न निर्देशन समेत दिनुभयो । ३. कार्यक्रममा रक्षा मन्त्रालयका सह–सचिवलगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको उपस्थिति रहेको थियो ।