प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा ‘सामरी स्ल्याम’ लनटेनिस खेल अवलोकन तथा पुरस्कार वितरण

१. आज मिति २०७४ साल मंसिर २९ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले श्री मध्य पृतना हे.क्वा.सुपारेटार व्यारेकको खेल मैदानमा भएको आठौं संस्करणको ‘सामरी स्ल्याम’ राष्ट्रिय लनटेनिस प्रतियोगिताको समापन समारोहको क्रममा आयोजित फाइनल खेल अवलोकन गर्नुको साथै विजयी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गर्नु भएको छ ।

२. श्री मध्य पृतना हे.क्वा., अखिल नेपाल लन टेनिस संघ र मकवानपुर लन टेनिस संघले मिति २०७४ मंसिर २५ गतेबाट संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल सहित जम्मा ७ विधाहरुमा जम्मा ६५ जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको पुरुष सिंगल तर्फ संरक्षक भुषण बज्राचार्य तथा महिला सिंगल तर्फ माहिका राणा प्रथम हुनु भएको थियो ।

३. सो ‘सामरी स्ल्याम’ लनटेनिस प्रतियोगिताको समापन कार्यक्रममा श्री मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी श्री प्रभुराम शर्माले समापन मन्तव्य व्यक्त गर्नु भएको थियो ।

४. साथै, प्रधानसेनापति श्री क्षत्री आज श्री मध्य पृतना हे.क्वा.सुपारेटार व्यारेकमा मुकाम रहनु हुने र भोली मिति २०७४ पौष १ गते भरतपुरस्थित श्री महेन्द्रदल गण र बुटवलस्थित मध्य पश्चिम पृतना हे.क्वा.को निरीक्षण गरी मिति २०७४ पौष २ गते काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।