‘प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता २०७४’ सम्पन्न

१. आज मिति २०७४ माघ २७ गते महाशिवरात्री तथा सेना दिवस २०७४ को अवसरमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा "UNITED WE STAND-COME STAND WITH US" भन्ने नारासहित RUN FOR FUN को रुपमा ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता २०७४’ सम्पन्न भएको छ ।

२. उक्त प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथन, २१ किलोमिटर हाफ म्याराथन (महिला/पुरुष), विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरु सहितको नेपाली सेनाका अधिकृतहरुको १० कि.मि. दौड (महिला/पुरुष), विभिन्न विद्यालयका छात्र/छात्राहरुको ५ किलोमिटर दौड तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी कुटनीतिक पदाधिकारी र निजामति उच्च पदाधिकारीहरु सम्मिलित ५ किलोमिटर वाकाथन समावेश गरिएको थियो ।

३. सो प्रतियोगिताको छात्र तर्फको ५ कि.मि.दौडमा श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारीका सुरेश थापा मगर प्रथम, सोही महाविद्यालयका ईश्वर बस्नेत द्वितिय र श्री सम्झना एकेडेमीका कृष्ण तामाङले तृतिय स्थान हासिल गर्नुभएको थियो । त्यसैगरी, छात्रा तर्फ श्री मेगा नेशनल कलेजका काजल बिष्ट प्रथम, श्री विजेश्वरी ज्ञान मन्दिरका सुनिता श्रेष्ठ द्वितिय र श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका स्वेच्छा बलामी मगरले तृतिय स्थान हासिल गर्नुभएको थियो ।

४. सोही अवसरमा, पुरुष तर्फको १० कि.मि. दौडमा नेपाली सेनाका उप सेनानी राकेश नेपाली प्रथम, सह सेनानी भुपाल अधिकारी द्वितिय र सेनानी मधु थापा तृतिय हुनु भएको थियो । त्यसैगरी, महिला तर्फ उप सेनानी करिश्मा प्रधान कुमाल प्रथम, सह सेनानी मिना कुमारी बस्नेत द्वितिय र उप सेनानी रेखा अधिकारी तृतिय हुनु भएको थियो । सोही विधाको पुरुष तर्फ १० कि.मि. विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञसहितको दौडमा काठमाण्डौंस्थित बेलायती राजदुतावासका Simon Castro Wilrich प्रथम र सोही राजदुतावासका Aaron Durham द्वितिय र चिनियाँ राजदुताबासका Xu Sirui तृतिय स्थान हासिल गर्न सफल हुनुभएको थियो । उक्त विधामा प्रथम, द्धितिय तथा तृतिय स्थान हासिल गर्नु हुने विदेशी सैनिक सहचारी एवं कुटनीतिज्ञहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

५. हाफ म्याराथन २१ कि.मि. दौड दुई विधा (४५ बर्ष मुनि र माथि उमेर समूह) मा गरिएको थियो । ४५ बर्ष मुनि पुरुष तर्फको २१ कि.मि.दौड मा नेपाली सेनाका सिपाही गजेन्द्र राज राई प्रथम, सिपाही रामजी बस्नेत द्वितिय र हुद्दा कल्याण बानियाले तृतिय स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, सोही विधाको महिला तर्फ नेपाली सेनाका प्यूठ विश्वरुपा बुढा प्रथम, प्युठ रेशु बस्नेत द्वितिय र सशस्त्र प्रहरी बलका विन्द्रा धनके श्रेष्ठले तृतिय स्थान हासिल गर्नु भएको थियो । उक्त २१ कि.मि.दौडमा प्रथम, द्वितिय तथा तृतिय स्थान हासिल गर्नु हुने धावकहरुले क्रमशः रु.२५ हजार, रु.१५ हजार र रु.१० हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो । पुरुष तथा महिला तर्फ प्रथम हुने प्रतियोगीको लागि नगद पुरस्कार श्री ग्लोबल आई एमई बैंकले प्रायोजन गरेको थियो । ४५ वर्ष माथिको २१ कि.मि. विधामा भिम बहादुर गुरुङ प्रथम, कपिल भट्ट द्धितिय र दरिन बहादुर खड्का तृतिय हुन सफल भई नगद पुरस्कार क्रमशः रु. १५ हजार, रु.१० हजार र रु. ५ हजार प्राप्त गर्नु भएको थियो ।

६. त्यसैगरी, म्याराथन प्रतियोगितामा नेपाली सेनाका अम.कृष्ण बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेण्डमा दौड पूरा गर्नु भई प्रथम स्थान हासिल गर्नु भएको थियो भने सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा दौड पूरा गर्नु भई द्वितिय र नेपाली सेनाका अमल्दार राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्नु भई तृतिय हुनु भएको थियो । उक्त म्याराथनमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले प्रथम हुनुहुने नेपाली सेनाका अम. कृष्ण बस्नेतलाई रु. १ लाखको चेकबोर्ड, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भएको थियो भने द्वितिय, तृतिय, चौथो, पाँचौ र छैठौ स्थान हासिल गर्न सफल हुनु भएका धावकहरुलाई समेत प्रधान सेनापति श्री क्षत्रीले क्रमशः रु.५० हजार, रु.२५ हजार, रु.१५ हजार, रु.७ हजार, रु.५ हजार तथा मेडल र प्रमाण पत्रसमेत प्रदान गर्नुभएको थियो । म्याराथन तर्फको प्रथम नगद पुरस्कार श्री एभरेष्ट बैंक र द्धितिय नगद पुरस्कार श्री ग्लोबल आई.एम.ई. बैंकले प्रायोजन गरेको थियो ।

७. सोही अवसरमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले सो प्रतियोगिताको म्याराथन तर्फ प्रथम हुनुहुने नेपाली सेनाका अम. कृष्ण बस्नेतलाई बजाज कम्पनीको १६० सिसिको प्लसर मोटर साईकलको साँचो र सो प्रतियोगिताको २१ कि.मि. महिला तर्फ प्रथम हुनु हुने नेपाली सेनाकी प्यूठ विश्वरुपा बुढालाई सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले स्कुटरको साँचो हस्तान्तरण गर्नुभएको थियो । म्याराथन तर्फ प्रदान गरिएको बजाज कम्पनीको मोटर साईकल हंशराज हुलासचन्द कम्पनी लिमिटेडले प्रायोजन गरेको थियो ।

८. कार्यक्रमकै क्रममा प्रमुख अतिथि प्रधान सेनापति श्री क्षत्रीले एथलेटिक्सका ३ जना र भारत्तोलनका १ जना गरी ४ जना ओलम्पिकमा सहभागी जनाएका पूर्व खेलाडीहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कारबाट सम्मान गर्नुभएको थियो ।

९. उक्त प्रतियोगिताको म्याराथन तर्फ ३२३ जना, २१ कि.मि. ४५ वर्षभन्दा मुनिको पुरुषतर्फ १५२० जना र महिला तर्फ ११८ जना, ४५ बर्षभन्दा माथि पुरुष २३ जना, १० कि.मि. पुरुषतर्फ ४३९, महिला तर्फ ३७, ५ कि.मि. पुरुष तर्फ २२६ र महिला तर्फ ५०४ गरी कुल सहभागी संख्या ३१९० जना रहेका थिए ।

१०. सो कार्यक्रममा नेपाल सरकारका सचिवहरु, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबलका उच्च पदस्थ पदाधिकारीहरु, सञ्चारकर्मीहरु, नेपाली सेनाका अधिकृतलगायत विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।