मित्रराष्ट्र भारतका भारतीय सेनाध्यक्ष General Bipin Rawatद्वारा नेपाल भ्रमण

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको निमन्त्रणामा मित्रराष्ट्र भारतका भारतीय सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Bipin Rawat, UYSM, AVSM, YSM, SM, VSM, ADC मिति २०७४/१०/२९ गते काठमाण्डौं आउनु भई मिति २०७४/११/०२ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ । नेपाली सेना स्थापनाको २५० औं बर्षगाँठ मनाउने क्रममा मिति २०७४/११/०१ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन उहाँ नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।

२. नेपाली सेना र भारतीय सेना बिचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रही आएको छ । नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाले आयोजना गर्ने विशेष कार्यक्रमहरुमा विशेष अतिथिको रुपमा निमन्त्रणा गर्ने र भारतीय सेनाको मानार्थ सेनापति सम्मान दिइने प्रचलन रही आएको छ । त्यसैगरी, भारतीय सेनाका सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिने प्रचलन अनुसार नै हालका सेनाध्यक्ष General Bipin Rawat लाई मिति २०७३/१२/१६ गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मानार्थ महारथीको सम्मान प्रदान गर्नु भएको थियो ।

३. उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई Military Diplomacy को माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास लिईएको छ ।