‘सेना दिवस २०७४’ को उपलक्ष्यमा प्रधान सेनापतिद्वारा नेपाली सेनाका सकलदर्जालाई शुभकामना सन्देश

१. ‘सेना दिवस २०७४’ को शुभ उपलक्ष्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाका सकलदर्जालाई शुभकामना सन्देश दिनुभएको छ । उक्त सन्देशमा प्रधान सेनापति महारथी श्री क्षत्रीले स्वदेश तथा विदेशमा तैनाथ सकलदर्जा, नेपाली सेना अन्तर्गत सेवारत निजामती कर्मचारीहरु, अवकाश प्राप्त सैनिकलगायत परिवारजनहरुमा सुख, शान्ति, समृद्धि, सु—स्वास्थ्य तथा उत्तरोत्तर प्रगतीको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुहुँदै देश र जनताको लागि आफ्नो प्राणको आहुति दिने वीर वीराङ्गनाहरुको आत्माको चीर शान्तिको कामना गर्दै कर्तव्यपालनाको सिलसिलामा घाइते, बिरामी भई उपचारको क्रममा रहेका सकलदर्जाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो ।

२. सो सन्देशमा समयानुकुल परिवर्तनलाई सहर्ष आत्मसात् गर्दै आएको नेपाली सेनाले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता कायम राख्नका लागि पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मिता माथि धावा बोल्ने तत्वहरुको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बांकी नराखी आफ्नो गौरवमय इतिहास, मौलिकपना, प्राचीन गाथा, पूर्खाले स्थापना गरेको मुल्य मान्यता र देशभक्ति प्रति गर्व गर्दै नेपाली सेना कठिन भन्दा कठिन परिस्थितिमा पनि संविधान निर्दिष्ट कार्यहरुको परिधिभित्र रही राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर रहेको उल्लेख गर्नु भएको छ ।

३. उक्त सन्देशमा उहाँले नेपाली सेनाले संविधान कार्यान्वयनको क्रममा नेपाल सरकारबाट घोषित सबै तहका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगबाट सम्पन्न गर्न अन्य सुरक्षा निकायहरुसँगको सहकार्यमा प्राप्त जिम्मेवारी प्रशंसनीय ढंगबाट पुरा गरी एक विश्वसनीय फौजको छवि कायम राख्न सफल भएकोमा सबै तहका कमाण्डर, स्टाफ लगायत सकलदर्जाहरुलाई हार्दिक धन्यवाद दिनु भएको छ ।

४. सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग (Expressway) निर्माण परियोजना समयमा नै सम्पन्न गरेर उदाहरणीय बन्ने मौकालाई नेपाली सेनाले सु–अवसरको रुपमा लिएको उल्लेख गर्नु हुँदै उहाँले राष्ट्रिय गौरवको यो निर्माण परियोजना नेपाली सेनाले मागेको होइन, न त खाजेको नै हो, यो त नेपाली सेना प्रति नेपाल सरकार र नेपाली जनताले दर्शाएको भरोसा र विश्वासको प्रतिफल भएकोले यस्ता कार्यहरु सु–सम्पन्न गर्न रक्षा मन्त्रालय लगायत अन्य सरोकारवाला निकायहरुबाट उचित सहयोग तथा सद्भाव रही आएको समेत उल्लेख गर्नु भएको छ । सो सन्देशमा उहाँले आयोजना लक्षित समय सीमा भित्र तोकिएको मापदण्डमा कुनै सम्झौता नगरी निर्माण सम्पन्न गर्न यस कार्यमा संलग्न सबैलाई निर्देशन दिनु भएको छ ।

५. सोही सन्देशमा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेनाको संरचनालाई समय सापेक्ष तुल्याउन परिमार्जित पुनर्ढांचा र पुनर्संन्तुलन (Redesign & Rebalance) का योजनाहरु नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत भई हाल कार्यान्वयनको चरणमा रहको बताउनु भएको छ । यसले नेपाली सेनाको संरचनामा देखिएका कमी कमजोरीलाई सन्तुलित बनाउन र देशको संघीय संरचना अनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप २ पृतना तथा २ बाहिनीहरु स्थापना भई तैनाथ भईसकेका समेत उल्लेख गर्नु भएको छ ।

६. सन्देशमा उहाँले नेपाली सेनाको विपद् व्यवस्थापन जिम्मेवारीलाई थप व्यवस्थित बनाउन बहुराष्ट्रिय सैनिक समन्वय केन्द्र सम्बन्धी कार्यविधि अनुरुप आपतकालिन अवस्था Search & Rescue Operation समन्वयात्मक रुपमा संचालन गर्ने व्यवस्था स्थापित गरिएको बताउनु भएको छ । उक्त सन्देशमा नेपाली सेनाले हासिल गरेका शुन्य शिकार बर्षहरु जैविक विविधता संरक्षणको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नै प्रशंसनीय रहेको बताउनु हुँदै प्रकृति संरक्षणको महत्वपूर्ण जिम्मेवारीमा खट्टिनु भएका सकलदर्जाले उच्च अनुशासन र दृढताका साथ अहोरात्र खट्टिई संरक्षित क्षेत्रमा (निकुञ्ज र आरक्ष) हासिल भएका सफलताहरुको लागि सम्बद्ध सकल दर्जाहरुलाई हार्दिक धन्यवाद समेत दिनु भएको छ । सोही क्रममा उहाँले हरियाली अभियान (Go Green Campaign) ज्यादै प्रभावकारी भएकोले यसलाई जनस्तरसम्म विस्तार गर्न जनचेतना अभियान संचालन गर्दै लगिने समेत बताउनु भएको छ ।

७. नेपाली सेनाको खरिद तथा आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाई चालु आर्थिक वर्षबाट सम्पूर्ण खुल्ला बोलपत्रहरु E-Biding मार्फत गरिंदै आएको उल्लेख गर्नु हुँदै ठुलो मात्रामा विदेशबाट खरिद गर्नु पर्ने सामानहरु पारदर्शी गर्न Government to Government (G to G) मार्फत खरिद गरिने प्रक्रियालाई प्राथमिकता दिइएको उल्लेख गर्नु भएको छ । साथै, उहाँले सैनिक सामग्रीहरुको परनिर्भरतालाई हटाई स्वदेशमा नै उत्पादन गर्दै जाने लक्ष्य अनुरुप समय सापेक्ष पहिरन सामग्री शाखा र सुन्दरीजल आर्सनल कार्यालयलाई आधुनिकिकरण गर्दै लगिएको शुभकामना सन्देशमा रहेको छ ।

८. शुभकामना सन्देशमा मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्धलाई अझ विस्तार गर्न सैनिक कुटनीतिलाई थप मजबुद तथा सुदृढ गर्न मित्रराष्ट्रका सैनिक संगठनहरुसँगको सहकार्यमा विशेष जोड दिइएको उल्लेख गर्नु हुँदै विभिन्न राष्ट्रका सेनाहरुसँग Subject Matter Expert Exchange Programme (SMEE), Short Term Training Team र विभिन्न विषयहरुमा Joint Exercise संचालन भएका र सोही क्रममा मित्रराष्ट्र बेलायतमा संचालन भएको भ्Exercise Cambrian Patrol 2017 मा नेपाली सेनाको टिम उत्कृष्ट पेशागत दक्षता प्रदर्शन गर्दै न्यमि Gold Medal गर्न सफल भएको समेत उल्लेख गर्नु भएको छ ।

९. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यमा नेपाली सेनाको संख्या क्रमशः बढाउँदै लैजाने लक्ष्य अनुरुप शान्ति स्थापना कार्यमा कुल दरवन्दीको १० प्रतिशतसम्म शान्ति सैनिक पठाउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको र यसै क्रममा UNMISS, South Sudan मा High Readiness Coy तैनाथ भईसकेको, UNDOF सिरियामा Mechanized Company तथा लिवियामा Special Force Company समेत तैनाथ भईसकेको उक्त सन्देशमा उल्लेख गरिएको छ ।

१०. सन्देशमा उहाँले नेपाली सेनाको गैर राजनैतिक चरित्रमा असर पार्न सक्ने विविध प्रकृतिका दबाब र परिघटनाहरुले फौजको एक ढिक्कापन, सामाजिक न्यायको सिद्धान्त र विश्वासका आधारहरु टुट्ने सम्भावनाहरु प्रति पनि नेपाली सेना सधैं सजक रहनु पर्ने उल्लेख गर्नु हुँदै यसले नेपाली सेनाको आधार स्तम्भको रुपमा रहेको अन्तरनिहित Chain of Command लाई पनि असर पार्ने भएकोले यस्ता कार्य गर्ने गराउने जो सुकै भएपनि कारवाहीको भागिदार हुने समेत उल्लेख गर्नु भएको छ ।

११. शुभकामना सन्देशको अन्त्यमा उहाँले राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको पहरेदार नेपाली सेना, नेपाली जनताको आस्था र विश्वासको केन्द्र रहेको तथ्यलाई मनन् गर्दै आफ्नो कर्तव्य पथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पण रहने प्रतिवद्धता जाहेर गर्दै, स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण आदरणीय नेपालीहरु, नेपाल सरकारका विभिन्न निजामती एवं अन्य सुरक्षा निकायमा कार्यरत महानुभावहरु, सञ्चार जगत, विभिन्न संघ संस्थाहरु तथा नेपाली सेनाका सबै शुभेच्छुकहरुलाई नेपाली सेनाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।