‘११ औं प्रधानसेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४’ को समापन

१. श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुरले उक्त महाविद्यालयको खेल मैदानमा आयोजना गरेको ‘११ औं प्रधानसेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४’ को आज मिति २०७४ फागुन १३ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा एक विशेष समारोहका बीच समापन भएको छ ।

२. मिति २०७४ माघ २८ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा जम्मा १७ वटा माध्यमिक विद्यालयहरुका १८ वटा क्रिकेट टिमहरुको सहभागिता रहेको थियो । आज सैनिक आवासीय महाविद्यालय, भक्तपुरको क्रिकेट टिम ‘ए’ र राजन मेमोरियल उच्च माध्यमिक विद्यालय बालाजुको क्रिकेट टीमबीच भएको फाईनल खेलमा सैनिक आवासीय महाविद्यालयको टिमले राजन मेमोरियल उच्च माध्यमिक विद्यालयलाई ४७ रनले पराजित गरी प्रथम हुन सफल भएको छ । सो प्रतियोगिताको म्यान अफ दि सिरिज राजन मेमोरियल उच्च माध्यमिक विद्यालयका अनुप नेपाल हुन सफल भएका छन् ।

३. उक्त समापन समारोहमा प्रधानसेनापति श्री क्षत्रीले प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गर्न सफल क्रमशः सैनिक आवासीय महाविद्यालयको क्रिकेट टिमलाई नगद रु.२५,०००।– (पच्चिस हजार) र राजन मेमोरियल उच्च माध्यमिक विद्यालयको क्रिकेट टिमलाई रु. १५,०००।– (पन्ध्र हजार) लगायत दुवै टिमलाई प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गर्नु भएको थियो ।

४. उक्त समापन समारोह कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, सञ्चारकर्मी, अविभावकलगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

५. यस प्रकारको प्रतियोगिताबाट विद्यार्थीहरुमा अध्ययनको अलावा खेल प्रति अभिरुची बढ्न गई भविश्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सहयोग मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।