नेपाली सेना भू.पू. सैनिक सम्मेलन (मोरङ, सुनसरी, झापा, ईलाम, पाँचथर र ताप्लेजुङ)–२०७४ सम्पन्न

१. आज मिति २०७४ फाल्गुन २५ गते श्री पूर्वी पृतना हे.क्वा. अन्तर्गत मोरङ, सुनसरी, झापा, ईलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका भु.पू. सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको लागि सुनसरी जिल्लाको ईटहरी व्यारेकमा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७४ एक विशेष समारोहकाबीच प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

२. प्रधानसेनापति श्री क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, सुख दुःख बाँड्ने, अपनत्वको भावना जागृत गराउने, चासोका कुरा सुन्ने र राष्ट्र तथा नेपाली सेनाका लागि भुतपूर्व सैनिकहरुले गर्नुभएको समर्पणको यथोचित सम्मान गर्ने हेतुले यस प्रकारको भु.पू. सैनिक सम्मेलनहरुको आयोजना गरिएको बताउनु भएको छ । सोही क्रममा प्रधानसेनापति श्री क्षत्रीले उपलब्ध श्रोत साधनको परिधिभित्र रही हिताधिकारीहरुको हित र कल्याण होस भन्ने हेतुले “कमाण्ड मार्ग निर्देशन, २०७२” मा उल्लेख भए अनुसार कल्याणकारी कार्यक्रमको पहुँच बढाउने तर्फ केन्द्रित रही अधिकतम संख्यामा बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यलाई सहयोग तथा सुविधा प्रदान गर्ने गरी नयाँ कार्यक्रमहरुको लागि नेपाल सरकारसँग समन्वय र स्वीकृति लिई अगाडी बढ्ने नीति अवलम्बन गरिएको बताउनु भयो । सोही अवसरमा उहाँले २०७४ माघ महिनाबाट लागु हुने गरी कल्याणकारी कोषबाट ९० वर्षदेखि ९९ वर्षसम्म उमेर पुगेकाहरुलाई ‘पुर्व शताव्दी मासिक भत्ता’ स्वरुप रु. ३ हजार तथा सो भन्दा माथि उमेर पुगेकाको हकमा ‘शताव्दी मासिक भत्ता’ स्वरुप रु. १० हजार दिने निर्णय गरिएको समेत जानकारी गराउनु भएको थियो ।

३. सोहि क्रममा उहाँले यस बर्षको भू.पू. सैनिक सम्मेलनको Main Theme “शिक्षा, स्वास्थ्य र स्वःरोजगार” राखिएको र यसमा शिक्षा, स्वास्थ्य र स्वःरोजगारका लागि लघुवित्त (Microfinance) कार्यक्रमलाई प्राथमिकता दिईएको बताउनु भयो । साथै यस प्रकारका सम्मेलनहरुबाट आगामी दिनहरुमा संचालन हुने कल्याणकारी योजनाहरु थप सेवामुखी तथा सहज बनाउन सहयोगीसिद्ध हुने र बहालवाला तथा भू.पू. सैनिक सबैलाई दृढ र एकतावद्ध रहन प्रेरणा मिलेको समेत बताउनु भएको छ ।

४. उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत उपरथी श्री पदम विलास कार्की (अ.प्रा.) ले स्वागत मन्तव्य राख्नु भएको थियो भने भूतपूर्व सैनिकहरुको तर्फबाट उपरथी श्री दिलिप कार्की (अ.प्रा.) ले धन्यवाद मन्तव्य राख्नु भएको थियो । त्यसैगरी वलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले समापन मन्तव्य राख्नु भई सम्मेलनको समापन गर्नु भएको थियो । कार्यक्रम पश्चात प्रधानसेनापति श्री क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनु भएकाहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

५. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा माथि उल्लेखित ६ जिल्लाका ३५५० जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । त्यसैगरि, मिति २०७४ फाल्गुन १८ गतेबाट ऐ. २४ गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करिव ४४३० जनालाई स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

६. सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित ६ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।

७. सम्मेलनकै क्रममा पूर्वी पृतना अन्तर्गतका युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी नृत्य, मास पि.टी., तेक्वान्दो पि.टी. तथा आईकिडो प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । उक्त समारोहमा नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म समेटिने गरी फोटो प्रदर्शनी र नेपाली सेनाको हातहतियार तथा उपकरणहरुको समेत प्रदर्शनी गरिएको थियो । साथै, भूतपूर्व सैनिकहरुबाट मार्चपास्ट तथा पारिवारिक निवृत्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको मार्चपास्ट प्रदर्शन गर्नुभएको थियो ।

८. उक्त सम्मेलनमा नेपाली सेनाका रथिवृन्द, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैर सरकारी कार्यालय÷सङ्घ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

९. साथै, प्रधानसेनापति श्री क्षत्री आज ईटहरी व्यारेकमा मुकाम रहनु भई मिति २०७४/११/२६ गते घनकुटा जिल्लाको हिले व्यारेक र मिति २०७४/११/२७ गते उदयपुर जिल्लाको गाईघाट व्यारेकमा सञ्चालन हुने भू.पु. सम्मेलनको कार्यक्रमहरुमा सहभागी हुनु भई ऐ. २७ गते नै काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।