नेपाली सेना भू.पू. सैनिक सम्मेलन (धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर)–२०७४ सम्पन्न

१. आज मिति २०७४ फाल्गुन २६ गते श्री पूर्वी पृतनाको श्री नं.२ बाहिनी अन्तर्गत धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाका भु.पू. सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको लागि धनकुटा जिल्लाको श्री नं.२ बाहिनी अड्डा, हिले ब्यारेकमा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७४ एक विशेष समारोहकाबीच प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

२. प्रधानसेनापति श्री क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अवकाश प्राप्त सैनिक ब्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, सुख दुःख बाँड्ने, अपनत्वको भावना जागृत गराउने, चासोका कुरा सुन्ने र राष्ट्र तथा नेपाली सेनाका लागि भुतपूर्व सैनिकहरुले गर्नुभएको समर्पणको यथोचित सम्मान गर्ने हेतुले यस प्रकारको भु.पू. सैनिक सम्मेलनहरुको आयोजना गरिएको बताउनु हुँदै उहाँले भु.पू. तथा बहालवाला, सबै एकै परिवारका सदस्यहरु भएको र नेपाली सेनाको संस्थागत मुल्य र मान्यतालाई जीवन्त राख्न भु.पू. सैनिकहरुले खेलेको गहन भुमिकाको प्रशंसा गर्नु भयो । सम्बोधन कै क्रममा उहाँले भु.पू. सैनिकहरुको आर्थिक समुन्नति, प्रगति र उचित ब्यवस्थापन हुनु भनेको नेपाली सेनाको आधार स्तभ्म बलियो हुनु हो भन्ने कुरा बताउनु हुँदै नेपाली सेनाको कल्याणकारी कार्यक्रम भु.पू. सैनिकहरुको सर्वोपरी हित हुने तर्फ केन्द्रित गरिएकोले हालका वर्षहरुमा कल्याणकारी कार्यक्रमहरुको बढ्दो पहुँच र सुविधा प्राप्त भएको बिश्वास समेत ब्यक्त गर्नु भयो ।

३. सोही क्रममा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरु समेत गरी कोषका हिताधिकारीहरुको संख्या करिब ८ लाख पुगेको उल्लेख गर्नुहुँदै ‘सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समिति’ को मातहतमा प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहने गरी नेपाली सेनाका बहालवाला र अवकास प्राप्त सैनिक तथा सम्बन्धित विषयका विज्ञहरु सम्मिलित ‘नेपाली सेना कल्याणकारी बोर्ड’ ले सैनिक ऐनको परिधिमा रही स्वास्थ्य, शिक्षा, स्वःरोजगार र पुनः रोजगार कार्यक्रमहरुमा हिताधिकारीहरुको पहुँच अभिवृद्धि गर्न विशेष पहल गरीरहेको र दुरगामी तथा प्रत्यक्ष असर गर्ने आधारभूत कल्याणकारी कार्यको बिस्तार र ब्यवस्थापनमा आ–आफ्नो क्षेत्रबाट बोर्डलाई पूर्णरुपमा सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गर्नु भयो । सम्बोधन कै क्रममा प्रधानसेनापति श्री क्षत्रीले ‘सैनिक कल्याणकारी कोष’ स्थापना भए पश्चात नेपाली सेनामा संस्थागत रुपमा कल्याणकारी कार्यक्रमहरुको थालनी भएको र सैनिक ऐन २०६३ ले गरेको ब्यवस्था अनुसार मुल पुँजीबाट आर्जित ब्याज र लगानीबाट प्राप्त हुने प्रतिफल नै कोषको हिताधिकारीहरुको हितको लागि संचालित कल्याणकारी कार्यहरुको प्रमुख आधारशीला भएको समेत बताउनु भएको थियो ।

४. समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले बहालवाला सैनिकका परिवार, भु.पू. सैनिक र तिनमा आश्रित परिवारहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न विश्वका विभिन्न मुलुकहरुमा सफल भएको लघुवित्त कार्यक्रम, नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेण्ट बैंक बीचको समझदारी एवं सहकार्यमा संचालनमा आएको र सो कार्यक्रमको लोकप्रियता बढ्दो भएकोले आगामी दिनहरुमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पैmलिएर रहेका भु.पू. सैनिक तथा परिवारजनहरुले सफल उद्यमी बनेर समाजमा नुमना बनि स्थापित हुने बिश्वास समेत ब्यक्त गर्नु भयो ।

५. उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत उपरथी श्री पदम विलास कार्की (अ.प्रा.) ले स्वागत मन्तब्य राख्नु भएको थियो भने भूतपूर्व सैनिकहरुको तर्फबाट उपरथी श्री हरि बहादुर बस्नेत (अ.प्रा.) ले धन्यवाद मन्तब्य राख्नु भएको थियो । त्यसैगरी बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले समापन मन्तब्य राख्नु भई सम्मेलनको समापन गर्नु भएको थियो । कार्यक्रम पश्चात् प्रधानसेनापति श्री क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनु भएकाहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

६. नेपाली सेनाको ब्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा माथि उल्लेखित ४ जिल्लाका ६४४ जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । त्यसैगरि, मिति २०७४ फाल्गुन २३ गतेबाट ऐ. २५ गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, बहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक ब्यक्तिहरु समेत गरी ३३३ जनालाई स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।

७. सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेकृष्ट ब्यवसायीहरुलाई प्रंशसा पत्र एवम् पुरस्कार बितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवारहरुलाई व्हिल चियर बितरण तथा उल्लेखित ४ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।

८. सम्मेलनकै क्रममा स्थानीय युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी नृत्य, मास पि.टी. तथा तेक्वान्दो पि.टी. प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक ब्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै, भूतपूर्व सैनिकहरुबाट मार्चपास तथा पारिवारिक निवृत्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको मार्चपास प्रदर्शन गर्नुभएको थियो ।

९. उक्त सम्मेलनमा नेपाली सेनाका रथीबृन्द, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैर सरकारी कार्यालय÷सङ्घ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

१०. साथै, प्रधानसेनापति श्री क्षत्री आज श्री नं.२ बाहिनी अड्डा, हिले ब्यारेकमा मुकाम रहनु हुने र भोलि मिति २०७४/११/२७ गते उदयपुर जिल्लाको गाईघाट ब्यारेकमा सञ्चालन हुने भू.पु. सैनिक सम्मेलनको कार्यक्रममा सहभागी हुनु भई काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।