नेपाली सेना भू.पू. सैनिक सम्मेलन (ओखलढुंगा, खोटाङ, उदयपुर र सोलुखुम्बु)–२०७४ सम्पन्न

१. आज मिति २०७४ फाल्गुन २७ गते श्री पूर्वी पृतनाको नं. १८ वाहिनी अन्तर्गत ओखलढुंगा, खोटाङ, उदयपुर र सोलुखुम्बु जिल्लाका भु.पू. सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको लागि उदयपुर जिल्लाको गाईघाट ब्यारेकमा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७४ एक विशेष समारोहकाबीच प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

२. प्रधानसेनापति श्री क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, सुख दुःख बाँड्ने, अपनत्वको भावना जागृत गराउने, चासोका कुरा सुन्ने र राष्ट्र तथा नेपाली सेनाका लागि भुतपूर्व सैनिकहरुले गर्नुभएको समर्पणको यथोचित सम्मान गर्ने हेतुले यस प्रकारको भु.पू. सैनिक सम्मेलनहरुको आयोजना गरिएको बताउनु भएको छ । सोहि क्रममा उहाँले यस बर्षको भू.पू. सैनिक सम्मेलनको Main Theme “शिक्षा, स्वास्थ्य र स्वःरोजगार” राखिएको र यसमा शिक्षा, स्वास्थ्य र स्वःरोजगारका लागि लघुवित्त (Microfinance) कार्यक्रमलाई प्राथमिकता दिईएको बताउनु भयो । साथै यस प्रकारका सम्मेलनहरुबाट आगामी दिनहरुमा संचालन हुने कल्याणकारी योजनाहरु थप सेवामुखी तथा सहज बनाउन सहयोगीसिद्ध हुने र बहालवाला तथा भू.पू. सैनिक सबैलाई दृढ र एकतावद्ध रहन प्रेरणा मिलेको समेत बताउनु भएको छ ।

३. उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत उपरथी श्री पदम विलास कार्की (अ.प्रा.) ले स्वागत मन्तब्य राख्नु भएको थियो भने भूतपूर्व सैनिकहरुको तर्फबाट रथी श्री फत्य बहादुर लिम्बु (अ.प्रा.) ले धन्यवाद मन्तब्य राख्नु भएको थियो । त्यसैगरी बलाध्यक्ष रथी श्री हेमन्त राज कुँवरले समापन मन्तब्य राख्नु भई सम्मेलनको समापन गर्नु भएको थियो । कार्यक्रम पश्चात् प्रधानसेनापति श्री क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनु भएकाहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

४. नेपाली सेनाको ब्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा माथि उल्लेखित ४ जिल्लाका १३३० जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । त्यसैगरि, मिति २०७४ फाल्गुन २४ गतेबाट ऐ. २६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, बहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक ब्यक्तिहरु समेत गरी १०३६ जनालाई स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।

५. सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेकृष्ट ब्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार बितरण भएको थियो । अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवारहरुलाई व्हिल चियर बितरण तथा उल्लेखित ४ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।

६. सम्मेलनकै क्रममा स्थानीय युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी नृत्य, मास पि.टी. तथा तेक्वान्दो पि.टी. प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक ब्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै, भूतपूर्व सैनिकहरुबाट मार्चपास तथा पारिवारिक निवृत्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको मार्चपास प्रदर्शन गर्नुभएको थियो ।

७. उक्त सम्मेलनमा नेपाली सेनाका रथीबृन्द, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैर सरकारी कार्यालय÷सङ्घ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

८. साथै, पूर्वी पृतना अन्तर्गत सुनसरी जिल्लाको इटहरी व्यारेक र धनकुटा जिल्लाको हिले व्यारेकमा सञ्चालन भएको भु.पू. सैनिक सम्मेलनमा सहभागी हुनको लागि मिति २०७४÷११÷२५ गते त्यस तर्फ जानु भएका प्रधानसेनापति श्री क्षत्री आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।