उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन

१. नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको तेश्रो उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम (3rd Advanced Training on National Security) को माननीय रक्षामन्त्री श्री ईश्वर पोखरलले आज मिति २०७४ फागुन ३० गते शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा एक समारोहकाबीच समापन गर्नुभएको छ ।

२. उक्त कार्यक्रमको शुभारम्भमा सो कलेजका शिक्षाध्यक्ष उपरथी श्री प्रल्हाद थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने माननीय रक्षामन्त्री श्री पोखरेलले आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै सफलतापूर्वक तालिम समापन गर्नु भएका सम्पूर्ण शिक्षार्थीहरुलाई बधाई दिनुभएको थियो । सम्बोधन कै क्रममा उहाँले सुरक्षा एक बहु–आयामिक विषय भएकोले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेत समेट्ने बताउनु भयो । सोही अवसरमा उहाँले सुरक्षा नीति अन्तर्गत सार्वजनिक र निजी मुल्य मान्यताहरु, राष्ट्रिय सम्मान र गौरव, जिउधन एवं सामाजिक–सांस्कृतिक मुल्य मान्यताको सुरक्षा र संरक्षण पनि पर्नुको साथै राष्ट्रिय सुरक्षाले भौगोलिक, सामाजिक, आर्थिक र राजनैतिक रुपमा देशको पूर्ण सुरक्षालाई बुझाउने बताउनु भएको थियो ।

३. सोही क्रममा उहाँले तालिमबाट सिकेको ज्ञानले आगामी दिनहरुमा कार्यकुशलता र कार्य सम्पादन क्षमतामा थप अभिवृद्धि हुन गई राष्ट्र र जनताप्रतिको सेवा प्रवाहमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रमकै दौरान वहाँले तालिमका सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।

४. मिति २०७४ फागुन २० गतेबाट ऐ.३० गतेसम्म सञ्चालन भएको उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेना लगायत अन्य सुरक्षा निकायका रथीवृन्द तथा अधिकृतहरु गरि जम्मा २५ जनाको सहभागीता रहेको थियो ।

५. उक्त समापन समारोहमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद के.सी, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।