हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

१. आज मिति २०७४ चैत्र ४ गते बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने सि.सं. ५ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको एक बिशेष समारोहबीच नारायणहिटी स्थित श्री उपत्यका पृतना हे.क्वा.मा शुभारम्भ गर्नु भएको छ । उक्त तालिममा २९ जना महा सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ ।

२. उक्त कार्यक्रममा बलाधिकृत रथी श्री थापाले तालिमका सहभागीहरुलाई सम्बोधन गर्नु हुँदै यस किसिमका तालिमले पृतना, आर्मी तथा बहुराष्ट्रिय वातावरणमा कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरु तयार पार्नुको साथै विषम परिस्थितीको मुल्यांकन गरी जटिल अपरेशनल वातावरणमा समेत प्रभावकारी निर्णय हासिल गर्न सक्षम हुने बताउनु भयो । त्यसैगरि, जटिल सुरक्षा वातावरणलाई ख्याल गर्दै विशिष्ट भू–राजनीति तथा अन्य तत्वहरुले पार्न सक्ने स्ुरक्षा चुनौतिको महत्वपूर्ण विश्लेषणको लागि उच्च स्तरको परिस्थितीजन्य मुल्यांकन क्षमता र पेशागत चुस्तताको साथमा उच्च सैनिक संस्कार र मान्यताको थप विकासको निमित्त यस किसिमको तालिम फलदायी हुने विश्वास समेत व्यक्त गर्नु भयो । कार्यक्रमको प्रारम्भमा तालिमका प्रमुख शिक्षक उपरथी श्री शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

३. उक्त समारोहमा बहालवाला तथा पूर्व रथीबृन्दहरु, सैनिक वार कलेजका पूर्व शिक्षाधिकृतहरु लगायत अधिकृतहरुको समेत उपस्थित रहेको थियो ।