सम्माननीय प्रधानमन्त्रीद्धारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१. आज मिति २०७४ चैत २९ गते भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक विशेष समारोहकावीच सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नु भएको छ । सो समारोहमा सम्माननीय प्रधानमन्त्रीको आगमन हुँदा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले हार्दिक स्वागत गर्नु भएको थियो ।

२. उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री श्री ओलीले सि.सं.५६ अधिकृत क्याडेट आधार तालिममा प्रथम हुने अधिकृत क्याडेट प्रशान्त खड्का तथा सि.सं.४६ पदिक/हुद्धा अधिकृत क्याडेट आधार तालिममा प्रथम हुने हुद्धा अधिकृत क्याडेट नारायण चौलागाईलाई "Sword of Honour" प्रदान गर्नु भएको थियो । त्यसैगरी, सि.सं.५६ अधिकृत क्याडेट आधार तालिममा महिलातर्पm प्रथम हुने महिला अधिकृत क्याडेट सलिना खड्कालाई "Cane of Honour" प्रदान गर्नु भएको थियो भने मित्रराष्ट्र माल्दिभ्सबाट सहभागी भएका अधिकृत क्याडेट Mohamed Misbah लाई "Best Sports Spirited Award" प्रदान गर्नु भएको थियो । २४ महिना अवधिको उक्त तालिममा ९ जना महिला अधिकृत क्याडेट, ७४ जना पुरुष अधिकृत क्याडेट, १ जना विदेशी अधिकृत क्याडेट तथा ८ जना पदिक/हुद्धा अधिकृत क्याडेट गरी जम्मा ९२ जना अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरिएको थियो ।

३. सो अवसरमा नवआयुक्त अधिकृतहरुलाई सम्बोधन गर्नु हुदै सम्माननीय प्रधानमन्त्री श्री ओलीले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा लगायतका संविधान प्रदत्त दायित्व निर्वाह गर्न गहन जिम्मेवारी बोकेका नेपाली सेनाको सहायक सेनानी दर्जामा आयुक्त हुने अधिकृतहरुलाई हार्दिक बधाई दिँदै २४ महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण र लगन पश्चात अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गरी नेपाली सेनाको अधिकृत भएको बताउनु भयो । साथै, नेपाली सेनाले संबैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गरी अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आईरहेको कुरा समेत नवआयुक्त पद ग्रहण गर्ने अधिकृतहरुलाई बताउनु भयो ।

४. नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “ज्ञान सेवा नेतृत्व” अनुरुप प्रशिक्षण दिई सेनाको सुयोग्य, कर्मठ, ईमान्दार, कर्तव्यनिष्ठ र अनुशासित अधिकृतहरु उत्पादन गर्न योगदान दिने शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्यदर्जाका शिक्षकहरु साथै वौद्धिक ज्ञान अभिबृद्धि गर्दै शैक्षिक अध्यापनतर्फ निरन्तर रुपमा योगदान पुर्याउनु हुने डिन तथा प्राध्यापकहरुलाई समेत सम्माननीय प्रधानमन्त्रीले हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

५. उक्त अवसरमा माननीय रक्षामन्त्री श्री ईश्वर पोखरेल, नं. ३ प्रदेशका प्रदेश प्रमुख, भक्तपुर जिल्लाका सांसद, रक्षा सचिव, पूर्व प्रधान सेनापतिहरु, नेपाली सेनाका रथीबृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकृतहरु, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा नेपाली सेनाका अधिकृत, पदिक एवं अन्य दर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजन र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।