प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई ‘Academy Hall of Fame’ सम्मान

१. नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पुरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त हुनु भएका प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई उक्त प्रतिष्ठानमा आयोजित अधिष्ठापन समारोहमा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी श्री सीताराम खड्काले ‘Academy Hall of Fame’ को सम्मानबाट अभिनन्दन गर्नु भई "Certificate of Honour" प्रदान गर्नु भएको छ ।

२. विभिन्न देशहरुले आ-आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरु मध्ये उच्च पद हासिल गर्न सफल भएका व्यक्तिहरुको तस्वीरलाई हलमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नेपाली सैनिक प्रतिष्ठानमा पहिलो पटक ‘Academy Hall of Fame’ समारोह आयोजना गरिएको हो । यस अघि, प्रधानसेनापति श्री क्षत्रीलाई अमेरिकी सेनाको US Army Command and General Staff College र US Army War College ले आफ्नो College बाट प्रशिक्षित शिक्षार्थी नेपाली सेनाको प्रधानसेनापति जस्तो गरिमामय पदमा आसिन हुनु भएको सन्दर्भमा क्रमशः २०७३ बैशाख १४ र १६ गते International Hall of Fame Induction Ceremony द्वारा सम्मान गरेको थियो ।

३. नेपाली सैनिक प्रतिष्ठानबाट अधिकृत क्याडेट आधार तालिम पुरा गरेका शिक्षार्थीहरु मध्ये नेपाली सेनाको इतिहासमा पहिलो पटक प्रधानसेनापति हुन सफल हुनु भएका प्रधान सेनापति महारथी श्री क्षत्रीको तस्वीर उक्त प्रतिष्ठानको पृथ्वीनारायण भवनको गोरखकाली कक्षमा राखिने छ । निकट भविष्यमा ‘Academy Hall of Fame’ बाट सम्मानित हुनु हुने व्यक्तिहरुको लागि छुट्टै भवनको व्यवस्था गरिने छ ।

४. उक्त समारोहमा पूर्व प्रधानसेनापतिहरु, बलाधिकृत रथी, बलाध्यक्ष रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, नेपाल अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, नेपाली सेनाका रथीबृन्दहरु, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, पूर्व शिक्षाधिकृतहरु, नेपाली सैनिक प्रतिष्ठान (त्रि.वि.) का डिन, सैनिक सहचारीहरु लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।