पाकिस्तान आर्म्ड फोर्सेसका अध्यक्ष (Chairman Joint Chiefs of Staff Committee) General Zubair Mahmood Hayat द्वारा नेपाल भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ५ (पाँच) दिने नेपाल भ्रमणको सिलसिलामा मिति २०७५/०३/०४ गते काठमाण्डौ आउनु भएका पाकिस्तान आर्म्ड फोर्सेसका अध्यक्ष (Chairman Joint Chiefs of Staff Committee) General Zubair Mahmood Hayat NI (M) ले भ्रमण सम्पन्न गरी आज मिति २०७५/०३/०८ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रबन्धरथी उपरथी श्री गौरव तण्डुलले बिदाई गर्नु भएको थियो ।

२. नेपाल भ्रमणमा रहँदा अध्यक्ष General Hayat ले सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारी, माननीय कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलका साथै प्रधानसेनापति श्री क्षत्रीसँग छुट्टा–छुट्टै भेटवार्ता गर्नु भएको थियो । सोहि क्रममा उहाँले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण गर्नुको साथै ऐतिहासिक तथा पर्यटकीय स्थल सिन्धुलीगढी र पोखराको समेत भ्रमण गर्नु भएको थियो ।

३. उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र पाकिस्तानी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध बृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिईएको छ ।