प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्रहरु जनवादी गणतन्त्र चीन तथा म्यानमारको औपचारिक भ्रमणको लागि प्रस्थान

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्रहरु जनवादी गणतन्त्र चीन तथा म्यानमारको औपचारिक भ्रमणमा आज मिति २०७५ असार १९ गते त्यस तर्फ प्रस्थान गर्नु भएको छ । उहाँ म्यानमारको ४ दिने भ्रमण पुरा गरी मिति २०७५ असार २४ गतेबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले विदाई गर्नु भएको थियो ।

२. भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्री म्यानमारमा रहँदा म्यानमारका महामहिम राष्ट्रपति, State Counsellor of Myanmar Aung San Suu Kyi, सेनाध्यक्ष Senior General Min Aung Hlaing र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, उहाँ चीनमा रहँदा चिनिया रक्षामन्त्री, सेनाध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

३. भ्रमण अवधिभर प्रधानसेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति श्री क्षत्री मिति २०७५ असार २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।