प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको सम्मानमा बिदाई कार्यक्रम सम्पन्न

१. मिति २०७५ भाद्र २४ गतेबाट अवकाश प्राप्त गर्न लाग्नु भएका प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई आज मिति २०७५ भाद्र २२ गते टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मान स्वरुप ईज्जत अर्पण कवाज प्रदान गरिनुका साथै जंगी अड्डामा आयोजित विशेष समारोहका साथ बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

२. गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित भई करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च एवं गरिमामय ओहदाबाट प्रधानसेनापति महारथी श्री क्षत्रीले मिति २०७५ भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्नु हुनु हुने हुँदा नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति श्री क्षत्रीलाई बिदाई गर्न आज यस विशेष समारोहको आयोजना गरिएको हो ।

३. कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति श्री क्षत्रीको सम्मानमा टुँडीखेलस्थित सैनिक मञ्चमा ईज्जत अर्पण कवाज प्रदान पश्चात जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति श्री क्षत्री र कायम मुकायम प्रधानसेनापति रथी श्री पूर्णचन्द्र थापाले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । सोही अवसरमा प्रधानसेनापति महारथी श्री क्षत्री तथा कायम मुकायम प्रधानसेनापति रथी श्री थापाले सम्झना स्वरुप उपहार आदान प्रदान समेत गर्नु भएको थियो । कायम मुकायम प्रधानसेनापति रथी श्री पूर्णचन्द्र थापालाई मिति २०७५ भाद्र २४ गते नेपाली सेनाका परमाधिपति तथा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन, शितलनिवासमा महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभई नेपाली सेनाको प्रधानसेनापतिको गरिमामय पदमा नियुक्ति गर्नु्हुने कार्यक्रम रहेको छ ।

४. कार्यक्रमको अन्त्यमा कायम मुकायम प्रधानसेनापति, पूर्व प्रधानसेनापतिहरु, सुरक्षा निकायका प्रमुखहरु, पि.एस.ओज रथीबृन्द लगायत अन्य रथीबृन्द तथा अधिकृतहरुले प्रधानसेनापति श्री क्षत्रीलाई सम्मानपूर्वक बिदाई गर्नु भएको थियो । साथै उक्त बिदाई कार्यक्रममा आमन्त्रित बिशेष पाहुनावर्ग, परिवारजनहरुको साथै उल्लेख्य संख्यामा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।