नेपाली सेनाको प्रधानसेनापतिमा महारथी श्री पूर्णचन्द्र थापा

१. नेपाली सेनाका परमाधिपति तथा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज मिति २०७५ भाद्र २४ गते राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापालाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्ती गर्नुभएको छ । गौरवमय इतिहास बोकेको नेपाली सेनाको ४३ औँ प्रधानसेनापति बन्न सफल हुनु भएका प्रधानसेनापति महारथी श्री थापालाई पद तथा गोपनीयताको सपथ समेत गराउनु भएको थियो ।

२. मिति २०७५ भाद्र ०३ गते बसेको मन्त्रीपरिषद् वैठकले कायम मुकायम प्रधानसेनापति रथी श्री पूर्णचन्द्र थापालाई महारथीमा बढुवा गरी प्रधानसेनापतिमा नियुक्ती गर्न गरेको सिफारिस बमोजिम नेपाली सेनाका परमाधिपति तथा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा २६७ को उपधारा (५) बमोजिम आज मिति २०७५ भाद्र २४ गते श्री थापालाई महारथिको दज्र्यानि चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्ती गर्नुभएको हो ।

३. सैनिक परम्परा अनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्चात उहाँले आफ्नो कार्यकक्षमा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको छ । कार्यालय बहाली पश्चात प्रधानसेनापति श्री थापाले पि.एस.ओज वैठक कक्षमा रथीबृन्दहरुसँग भेटघाटसमेत गर्नु भएको थियो । आजै नवनियुक्त प्रधानसेनापति महारथी श्री थापाले सैनिक मञ्च टुडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण (रिद लेइङ्ग) गरी सकलदर्जाहरुलाई सभामण्डपमा सम्बोधन गर्नु हुने कार्यक्रम समेत रहेको छ ।

४. मिति २०१७ भाद्र २५ गते लम्जुङ जिल्लामा जन्मनु भएका प्रधानसेनापति श्री थापा २०३७ मंसिर २७ गते सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नु भएको थियो । शान्ति स्थापना कार्यमा सिरियास्थित संयुक्त राष्ट्रसंघको अनडफ (UNDOF) मिसन प्रमुख तथा फोर्स कमाण्डर जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नु भएका प्रधानसेनापति श्री थापाले स्वदेशमा पनि गुल्म, गण, बाहिनी, पृतना जस्ता नेपाली सेनाका महत्वपूर्ण जिम्मेवारीहरुको सफलतापूर्वक कमाण्ड गरिसक्नु भएको छ ।

५. शितलनिवासमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री, माननीय गृहमन्त्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।