विपद् व्यवस्थापन सम्बन्धी अभ्यास समापन

१. नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको US Army Pacific (USARPAC) को संयुक्त आयोजनामा होटल याक एण्ड यतिमा मिति २०७५ असोज ०९ गतेबाट संचालन भएको Disaster Response Exercise and Exchange (DREE) अन्तरगत अभ्यास ‘Unity of effort IV' को आज ऐ. १२ गते बलाधिकृत रथी श्री हेमन्त राज कुँवरले विशेष समारोहका बीच समापन गर्नु भएको छ ।

२. विभिन्न १३ मित्रराष्ट्रहरुका सेनासहित नेपाल सरकारका बिभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकायहरु, विभाग, रेडक्रसलगायत विपद् ब्यवस्थापनमा कार्यरत संघ, संस्थाहरुको समेत गरि जम्मा ३०२ जनाको सहभागितामा प्राकृतिक विपदमा छोटो समयभित्र गरिने उद्धार कार्य तथा जनधनको न्युनतम क्षतीको लागि अपनाईने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यासद्धारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैह्रसरकारी संस्थाहरुबीच एकैसाथ भूकम्पलगायत अन्य विपद् व्यवस्थापन कार्य गर्न सक्ने क्षमताको अभिबृद्धि गर्ने उद्देश्यले यो अभ्यास संचालन भएको थियो ।

३. अभ्यासको दौरान खोज र उद्धारको प्रयास तथा घाईतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यासहरु श्री उपत्यका पृतना हे.क्वा. परिसर लगायत महावीर गण, भैरव नाथ गण, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, वीरेन्द्र अस्पताल छाउनी, ट्रौमा सेन्टर, नर्विक अस्पताल, मेडिसिटि अस्पताल, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल, टुंडिखेल र क्षेत्रपाटी एरियामा संचालन भएको यस अभ्यासले पेशागत क्षमता अभिबृद्धि हुनुका साथै मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ भएको विश्वास नेपाली सेनाले लिएको छ ।

४. उक्त समापन समारोहमा नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी श्री प्रभुराम शर्माद्धारा धन्यवाद मन्तव्य राख्नु भएको थियो भने Deputy Commanding General For Army National Guard, US Army Pacific का उपरथी Timothy Mckeithen ले समापन मन्तव्य राख्नु भएको थियो । साथै उक्त समारोहमा नेपाली सेनाका रथीबृन्द, विभिन्न मन्त्रालयका पदाधिकारीहरु, नेपाली सेना लगायत अन्य सुरक्षा निकायका अधिकृतहरु, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरु, संचारकर्मी लगायत अन्य विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।