सि.सं.१७ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

१. आज मिति २०६८ बैशाख ०६ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजद्वारा जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच सि.सं.१७ कमाण्ड तथा स्टाफ कलेज तालिमको दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न भयो । २. समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै कलेजका शिक्षाधिकृत उपरथी श्री प्रदिप जंग थापाले कलेजको गतिविधिहरुबारे संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो । ३. समारोहका प्रमुख अतिथि प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले समारोहलाई सम्बोधन गर्ने क्रममा उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण शिक्षार्थी अधिकृतहरुलाई बधाई दिनुहुँदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तालिमलाई सहयोग पु¥याउनु हुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । ४. प्रधानसेनापति महारथी श्री गुरुङ्गले कमाण्ड तथा स्टाफ तालिम सफलतापूर्वक सम्पन्न गरेका ३६ जना शिक्षार्थी अधिकृतहरु र तालिमका सर्वोत्कृष्ट शिक्षार्थी अधिकृत सेनानी माधव थापालाई प्रमाण–पत्र तथा “उत्कृष्ट शिक्षार्थी पुरस्कार” (best student award) प्रदान गर्नु भएको थियो । यसैगरी त्रिभूवन विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डा.श्री माधव प्रसाद शर्माले Strategic Studies मा स्नातकोत्तर उत्तिर्ण गर्ने २४जना नेपाली तथा ४ जना विदेशी शिक्षार्थी अधिकृतहरु र स्नातकोत्तरमा सर्वाधिक अंक ल्याई प्रथम स्थान हासिल गर्न सफल सेनानी माधब थापालाई पुनः प्रमाण–पत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो भने कलेजका शिक्षाधिकृत उपरथी श्री थापाले शोधपत्रमा प्रथम स्थान हासिल गर्न सफल सेनानी भुमिभक्त बराललाई नगद पुरस्कार रु २० हजार र प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । त्यसैगरी विदेशी शिक्षार्थीहरुमध्येबाट शोधपत्रतर्फ भारतका प्रमुख सेनानी हरसिमरन पउल सिंहले प्रथम स्थान हासिल गर्नुभएको थियो । ५. नेपाली सेनाका सेनानीहरु २८, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक १, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ तथा बिदेशी शिक्षार्थीहरुमा भारतबाट प्रमुख सेनानी १, चीनबाट सेनानी २, बंगलादेशबाट सेनानी १, पाकिस्तानबाट सेनानी १, श्रीलंकाबाट सेनानी १ गरी जम्मा ३६ जना शिक्षार्थी अधिकृतहरु सम्मिलित उक्त तालिम मिति २०६७ जेष्ठ ३१ गतेबाट प्रारम्भ भएको थियो । ६. उक्त कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका उपकुलपति, वरिष्ठ प्राध्यापकहरु, विदेशी महामहीम राजदुतहरु, विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अवकाश प्राप्त तथा सेवारत रथीबृन्दहरु अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरुका साथै शिक्षार्थी अधिकृतका परिवारजनहरुको समेत उपस्थिति रहेको थियो ।